उत्तर कोरियाली नेता किम जोङ्ग 'सार्वजनिक'

  • 14 अक्टोबर 2014
तस्वीर कपीराइट AFP
Image caption लामो समय सार्वजनिक रुपमा नदेखिएपछि नेता किम विरामी परेको अनुमान गरिएको थियो

उत्तर कोरियाका नेता किम जोङ्ग उन गत चालिस दिनयता पहिलोपटक सार्वजनिक रुपमा देखिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ।

किमले हालै निर्मित आवास भवन र विज्ञान प्रतिष्ठानको अवलोकन गरेको बताइएको छ।

राज्य नियन्त्रित सञ्चार माध्यमले उनी छडि लिएर हिंडिरहेको देखाएको थियो।

समाचारमा भ्रमणस्थलबारे केही उल्लेख नगरिएपनि किमले विज्ञान विषयका नयाँ विद्यार्थीहरुलाई स्थलगत निर्देशन दिएको जनाइएको छ।

स्वस्थ

गत सेप्टेम्बर महिनाको पहिलो सातादेखि सार्वजनिक रुपमा नदेखिए पछि ३१ वर्षीय किम गभ्मीर विरामी परेको अनुमान गरिएको थियो।

अक्टोबर १० तारिखमा मनाइने कोरियन वर्कर्स पार्टीको स्थापना दिवस र सेप्टेम्बर ९ तारिखमा मनाइने उत्तर कोरियाको स्थापना दिवसमा किम अनुपस्थित थिए।

तर त्यहाँका अधिकारीहरुले उनी स्वस्थ रहेको बीबीसीलाई बताएका छन्।

ब्रिटेनका लागि उत्तर कोरियाका राजदूतले सेप्टेम्बर तीन तारिखपछि किम सार्वजनिक रुपमा नदेखिएपनि आफ्ना 'आदरणीय नेता' स्वस्थ्य रहेको बताए।

तस्वीर कपीराइट Reuters

किम स्वस्थ्य छन् भन्ने कुरामा कुनै शंका नभएको उनको भनाई थियो।

अनुपस्थित

उत्तर कोरियाली राजदूतले इमेलमार्फत आफ्नो मुलुकको मानवअधिकार अवस्थाको बचाउ पनि गरेका छन्।

उनले उत्तर कोरियामा मानवअधिकारको उल्लंघन भएको भन्ने आरोप झुटो र अमेरिकी पूर्वाग्रह अनुसार भएको बताए।

उनले मानवअधिकारबारे युरोपेली संघसंग छलफल गर्न आफ्नो मुलुक तयार रहेको पनि जनाए।

युरोपेली संघले किम जोङ्ग उनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउने विषयमा विचार गरिरहेको बताइएको छ।

बन्दीगृह

उत्तर कोरियाली प्रवक्ताले आफ्नो मुलुकमा राजनीतिक बन्दीगृह वा राजनीतिक शिविर नरहेको बताएका छन्।

उनले भने, "उत्तर कोरियामा सुधार संस्थाहरु छन्, जहाँ श्रममार्फत मानिसहरुमा सुधार ल्याइन्छ।"

तर त्यो श्रम शिविर नभएको उनको भनाई थियो।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा योजनाबद्ध रुपमा यातना, बलात्कार, जबरजस्ती गर्भपतन र भोको राख्ने गरिएको आरोप लगाएको छ।