'अमेरिकाको स्वास्थ्यकर्मीमा फेरि इबोला'

  • 15 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption इबोलाका कारण सियरा लियोन, लाइबेरिया र गिनीका धेरै मानिसहरुले ज्यान गुमाएका छन्।

अमेरिकाको टेक्सस राज्यका अधिकारीहरुले त्यहाँ दोस्रो स्वास्थ्यकर्मीलाई इबोलाको संक्रमण भएको जनाएका छन्।

इबोला ग्रसित एक लाइबेरियालीको उपचारमा उनी संलग्न थिए।

यसअघि अर्का एक नर्सलाई पनि लाइबेरियाली बिरामीबाटै इबोला सरेको थियो।

ती दुवै स्वास्थसेवकहरु लाइबेरियाका थोमस डन्कनको उपचारमा संलग्न थिए।

अमेरिकामा इबोला भएको पहिलो व्यक्ति डन्कनको गत साता निधन भएको थियो।

कठिन

अमेरिकाको नर्सहरुको यूनियनले इबोला सर्नुमा सुरक्षा सतर्कता अपनाउनमा देखिएको कमजोरी जिम्मेवार रहेको भनि दिइएको आधिकारिक स्पष्टिकरण अस्वीकार गरेको छ।

यूनियनले भनेको छ, त्यस्ता सुरक्षा मापदण्ड खासै थिएनन् र तिनलाई अपर्याप्त सुरक्षा पोशाकहरु दिइएका थिए।

बीबीसीका स्वास्थ्य सम्पादक जेम्स ग्यालाघर भन्छन्, यो घटनाले इबोला कत्तिको खतरनाक हुन्छ र विश्वका उत्तम अस्पतालहरुलाई पनि यसको उपचार कत्तिको कठिन हुन्छ भन्ने देखाएको छ।

यो घटना टेक्सासमा दोस्रो हो भने यसअघि स्पेनमा पनि त्यस्तै देखियो।

इबोलाका बिरामीहरुलाई उपचार गर्दा सुरक्षित पोशाक लगाइएमा त्यसले जोखिम कम गराउने बताइन्छ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले भनेको छ, अब उसले त्यहाँका अस्पतालहरुको इबोला उपचारको तयारीलाई थप सशक्त बनाउनेछ।

त्यसका लागि उसले द्रुत गतिमा परिचालन गर्न सकिने एक टोली गठन गर्नेछ जसले कुनै पनि नयाँ बिरामी पत्ता लाग्ने वित्तिकै केही घण्टाको बीचमा त्यस स्थानमा पुगेर काम थाल्न सक्नेछ।

खतरा

यसैबीच राष्ट्रसंघको इबोला मिसनका प्रमुखले इबोला भाइरस नियन्त्रण गर्ने सन्दर्भमा विश्वले आवश्यक तदारुकता देखाउन नसकेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म इबोलाका कारण करीब ४५ सय मानिसहरुको ज्यान गैसकेको छ।

ती मध्ये अधिकांश मृत्यु पश्चिम अफ्रिकामा भएका छन्।

लाइबेरियामा यातायात मन्त्री एन्जेला बुशकी चालक इबोलाका कारण मरेको पाइएपछि उनलाई एक्ल्याइएर क्वारान्टाइनमा राखिएको छ।

उनले भनिन्, "मलाई मेरो ड्राइभरले आईतबार टेक्स्ट मेसेज पठाएर डाक्टरकहाँ जानुपरेकाले छुट्टी मागेको थियो। मैले उसलाई फोन गरेर के भएको भनेर सोधेकी थिएं। उसले मलेरिया भएको बताएको थियो। अनि हिजो मैले थाहा पाएं कि इबोलाका कारण उसको निधन भयो।"

अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका छन्, विश्वले इबोलाको खतरासंग जुध्न पर्याप्त कार्य गर्न सकेको छैन।

उनले बुधबार ब्रिटेन, फ्रान्स, जर्मनी तथा इटलीका नेताहरुसंग भिडियो कन्फरेन्स मार्फत इबोलाबारे कुराकानी गर्ने बताइएको छ।