इबोला 'बढ्दो छ; जित्न दिनुहुन्न'

  • 15 अक्टोबर 2014
तस्वीर कपीराइट GETTY
Image caption इबोला विरुद्ध नियन्त्रण कारवाही तीब्र नपारे यो जीवाणुले जित्ने चेतावनी विज्ञहरुको छ

इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै साढे चार हजार पुगेको र तीमध्ये सबैजसो पश्चिम अफ्रिकाका रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओका सहायक महानिर्देशक ब्रुस एलवार्ड भन्छन्, यदि नियन्त्रणका उपाय तीब्र नबनाइए दुइ महिनाभित्रै दश हजार नयाँ बिरामी थपिनेछन्।

जेनेभामा सन्चारकर्मीहरुसँग एलवार्डले भने- नराम्ररी प्रभावित तीन देशका राजधानीहरुमा अहिले पनि जीवाणु फैलिरहेको छ।

सियरालिओन, लाइबेरिया र गिनि सबैभन्दा नराम्ररी प्रभावित छन्; तर कुनै कुनै क्षेत्रमा नयाँ संक्रमण हुने दर घटेको उनी बताउँछन्।

चेतावनी

त्यस्तै इबोलाका लागि संयुक्त राष्ट्र संघीय मीसन अनमीरका प्रमुख एन्थोनी ब्यानबरीले पनि पश्चिम अफ्रिकाबाट संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्लाई पठाएको भिडिओ लिंकमा इबोला जीवाणु जित्ने क्रममा रहेको भन्दै कडा चेतावनी जारी गरेका छन्।

उनी भन्छन्, "म असाध्यै, असाध्यै चिन्तित छु। इबोला हामीभन्दा धेरै अगाडि छ। हामीभन्दा निकै छिटो दौडिरहेको छ। र खेल जितिरहेको छ। हामीले जित्न दिन सक्दैनौं किनभने त्यसले जित्यो भने हामी संयुक्त राष्ट्र संघका जनताले धेरै नै गुमाउनेछौं।"

उनी थप्छन्, "इबोला अहिले नै रोकौं नत्र हामीले अभूतपूर्व परिस्थितिको सामना गर्नुपर्नेछ जसको योजना हामीसँग छैन।"

इबोला लागेपछि ७० प्रतिशतको मृत्यु हुने गरेको छ।

९५ प्रतिशत केसहरु यसको ऐतिहासिक उत्पत्ति केन्द्र मै केन्द्रित रहेको र यी केन्द्रहरुमा संक्रमण कम हुन थालेको डब्लुएचओले जनाएको छ।

अनुमान

तर यसलाई सफलताको रुपमा हेरिनु अलि चाँडो हुने बताइएको छ।

डिसेम्बर सम्ममा गिनि, लाइबेरिया र सियरालियोनमा पाँच हजारदेखि दश हजारसम्म नयाँ बिरामीहरु थपिनसक्ने अनुमान गरिएको छ।

डब्लुएचओले ति तीन मुलुकका छिमेकी राष्ट्रहरु पनि खतरामा रहेको भन्दै आवश्यक तयारी गर्न आग्रह गरेका छ्न।