इबोला निगरानी: जहाजका यात्रुको खोजी

  • 16 अक्टोबर 2014
तस्वीर कपीराइट Getty
Image caption सीडीसी निर्देशकले इबोला संक्रमित नर्स चढेको जहाजका सबै यात्रुसँग कुराकानी गर्ने बताए

अमेरिकी स्वास्थ्य अधिकारीहरुले इबोलाबाट ग्रस्त भएर अस्पताल भर्ना हुनु अघिल्लो दिन एकजना नर्स चढेको जहाजका १ सय ३२ जना यात्रुको खोजी गरिरहेका छन्।

अमेरिकामा इबोला संक्रमित हुन पुगेकी दोश्रो नर्स एम्बर भिन्सन मंगलबार बिरामी परेकी थिइन्।

उनी र पहिलो नर्स नीना फ्यामले लाइबेरियाका थोमस एरिक डंकनको डल्लसस्थित अस्पतालमा उपचार गरेका थिए जसको एक हप्ता अघि निधन भइसकेको छ।

नर्सहरुको एउटा संगठनले डंकनलाई उपचार गर्नेहरुलाई पूर्ण स्वास्थ्य सुरक्षा नदिइएको र उनीहरुको शरिरको केहि भाग खुला रहेको बताएको छ।

अनुगमन

डंकनको उपचारक्रममा उनको सम्पर्कमा आएका हुन सक्ने ७० जना स्वास्थ्यकर्मीहरुलाई निगरानीमा राखिएको अस्पतालका निर्देशकले बताएका छन्।

बुधबार युएस सेन्टर फर डीसीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले भनेको छ- उसले अक्टोबर १३ मा क्लीभल्याण्ड ओहायोबाट डल्लस गएको फ्रन्टियर एअरलाइन्सको फ्लाइट नम्बर ११४३का यात्रुहरुसँग कुराकानी गर्न चाहन्छ।

त्यो साँझको उडान र नर्सको भोलिपल्ट विहानको बिमारबीचको छोटो समयका कारण त्यसो गर्नुपरेको सीडीसीले जनाएको छ।

सीडीसी निर्देशक टम फ्राइडन भन्छन्, "भीन्सन र फ्याम दुवै नर्सहरु डंकनको अस्पताल बसाइका अघिल्लो चरणमा उपचारमा संलग्न भएका थिए जुन डंकनको शरिरमा थुप्रै तरल पदार्थ उत्पादन हुने समय थियो।"

संरक्षण

इबोलाका लक्षण देखा पर्छन कि भनेर निगरानीमा रहेकै बेला भीन्सन क्लीभल्याण्ड गएकी थिइन्।

"उनले त्यसो गर्नु हुंदैनथ्यो", सीडीसी निर्देशक डा फ्राइडेनले भने।

नर्सहरुको एउटा राष्ट्रिय संगठनले संवाददाताहरुलाई बुधबार भनेको छ, डंकनलाई उपचार गर्ने स्वास्थकर्मीहरुलाई उचित रुपमा संरक्षण पुर्याइएको थिएन ।

इबोला विरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मीलाई उचित स्वास्थ्य सुरक्षा र तालिम अस्पतालहरुले दिनुपर्ने माग नर्सहरुले गरेका छन्।