‘कोबानीबाट आइ एस पछि धकेलिंदै’

  • 16 अक्टोबर 2014
कोबाने तस्वीर कपीराइट AFP
Image caption अमेरिकाको नेतृत्वमा आइ एसलाई धपाउन कोबानीमा हवाइ हमला जारी छ

सिरियाली शहर कोबानीको रक्षामा खटिएको कुर्द लडाकुहरुकी एक कमाण्डरले इस्लामिक स्टेट आइएस विद्रोहीहरुलाई शहरको पूर्वपट्टिको बाहिरी इलाकामा रहेका दुई ठाउँ बाहेक अरु सबै ठाउँबाट लखेटिएको जनाएकी छिन्।

अमेरिकी नेतृत्वको हवाइ हमलाका कारण ती विद्रोही पछि हट्न वाध्य भएको कुर्द बाहुल्य रहेको उक्त शहरको पूर्वी भागको कारवाहीको जिम्मा पाएकी कमाण्डर बहरिन कान्डालले बीबीसीलाई बताइन्।

आशा

उनले अब कोबानी नगर छिट्टै मुक्त हुने आशा पनि व्यक्त गरिन्।

कान्डालले उनका फौजले लडाकु, गोलीगठ्ठा तथा बन्दोबस्तीका सामानहरु प्राप्त गरिरहेको बताएपनि कसबाट प्राप्त भएको भन्ने चाहिं बताइनन्।

पछिल्ला दिनहरुमा मात्रै आइ एस विद्रोहीहरुले टर्की तथा सिरिया बीचको सीमावर्ती नगर कोबानीको २० प्रतिशत भागबाट नियन्त्रण गुमाएको एक कुर्द अधिकारीले बताएका छन्।

कोबानीको लडाईंलाई अमेरिकी नेतृत्वमा आइ एस विरुद्ध भइरहेका हवाइ हमला कत्तिको प्रभावकारी हुनेछन् भन्ने विषयको परीक्षणको रुपमा पनि हेरिएको छ।

आन्दोलन

यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तमा हालै नियुक्त भएका जइद राद अल हुसेनले आइ एसलाई संभावित जातीय नरसंहारकारी आन्दोलनका रुपमा अर्थ्याएका छन्।

सो पदमा नियुक्त भएपछिको पहिलो पत्रकार भेटघाटमा बोल्दै उनले आइ एस संगठन मानव अधिकारको पुरै विरुद्ध रहेको बताए।

अहिलेको विश्वले इबोला रोग र आइएस दुई सबभन्दा ठूला संकट बेहोरिरहेको पनि उनले बताए।