'हिमपातमा ज्यान गुमाउनेको संख्या ३०'

  • 17 अक्टोबर 2014
Image caption भारी हिमपातका कारण खोजी कार्य अझै चुनौतिपूर्ण रहेको अधिकारीहरुले बताएका छन्।

तेश्रो दिनको उद्धार कार्य पुरा हुँदा अन्नपूर्ण र आसपासको क्षेत्रमा आएको हिमपातमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको अधिकारीहरुले बताएका छन्।

हिमपातमा परेका २ सय ८२ जनालाई जीवितै उद्धार गरिएको छ।

शुक्रबार नेपाली सेनाको सानो टोली अन्नपूर्ण पदमार्गको सबैभन्दा उचाइमा रहेको स्थान थोरोङ्ग ला पासमा पहिलोपटक पुगेर झन्डै ४० जनाको उद्धार गरेको थियो।

बिहानै देखि अघि बढाइएको उद्धारका क्रममा शुक्रबार मुस्ताङबाट ४३ जना र मनाङबाट १८ जनाको उद्धार गरिएको थियो।

साथै हिमपात प्रभावित विभिन्न स्थानबाट १२ शवहरु संकलन गरिएका थिए।

उद्धार

हालसम्मको उद्धार कार्यबारे पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बीबीसीसँग भने, “हामीले अहिलेसम्म २ सय ८२ जना मानिसहरुलाई उद्धार गरेका छौं, आधिकारिक रुपमा २० वटा शव फेला परेको छ, नुरफू भन्ने ठाउँमा १० वटा शव छ भन्ने स्थानीय मानिसहरुबाट बुझिएको छ।”

नेपाली सेनाको उच्च हिमाली भेगमा उद्धार कार्यमा खटिने टोलीले शुक्रबार पछिल्लो हिमपातका कारण सबैभन्दा प्रभावित भएको करीब साढे पाँच हजार मिटर उचाइमा रहेको थोरोङ्ग ला पास क्षेत्रबाट झन्डै ४० जना पदयात्रीहरुको उद्धार गरेको छ।

जसमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाको उपचार भइरहेको जनाइएको छ।

सैनिक टोलीले बाक्लो हिउँले ढाकिएको थोराङ्ग ला पासको मुख्य मार्ग खुलाएको र सो इलाकाबाट हिउँले पुरिएको अवस्थामा ४ वटा शव फेला पारेको नेपाली सेनाले जनाएको छ।

अधिकारीहरुले थोराङ्ग ला पासदेखि मुक्तिनाथसम्मको उक्त पदयात्रा क्षेत्रमा खोजी तथा उद्धारको कार्य शनिबारसम्ममा सकिने विश्वास लिएका छन्।

अपिल

उपसचिव नेपालले भने, “थोराङलाको टि सपमा भएका २२ जना सुरक्षित रुपमा नै छन्। मुस्ताङ क्षेत्रको धेरै ठाउँबाट उद्धार भइसकेको छ, अलिकति समस्या भएको भनिएको टुकुचामा भोलि नै उद्धारका लागि जान्छौं। मुक्तिनाथदेखि माथि थोराङ्लासम्म धेरैजसो उद्धारको कामहरु सकिएको छ।”

अधिकारीहरुले करीब १० वटा हेलिकप्टर परिचालन गरी शुक्रबारको उद्धार कार्य अघि बढाइएको र उच्च हिमाली भेगको डोल्पा जिल्लामा पदयात्राको क्रममा रहेका पर्यटकहरु सकुशल नै रहेको जानकारी पाएको बताएका छन्।

शुक्रबार पर्यटन मन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सरकारी टोलीले हिमपात प्रभावित क्षेत्रको भ्रमण गरेको थियो।

उद्धार कार्य जारी रहँदा ट्रेकिङ्ग एशोसियन अफ नेपालले थोराङ ला पास देखि मुक्तिनाथ सम्मको पदयात्रा मार्गमा ठाउँ ठाउँमा हिउँको ढिस्कोहरु रहेको भन्दै अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा पदयात्रा नगर्न अपिल गरेको छ।