'हिमपातमा ज्यान गुमाउनेको संख्या ३९'

  • 18 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption हिमपातको यो घटनाले नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो क्षति पु-याएको ठानिएको छ।

यसै हप्ता अन्नपूर्ण क्षेत्रमा आएको भीषण हिमपातमा ज्यान गुमाउनेहरुको संख्या ३९ पुगेको उद्धार कार्यको संयोजन गरिरहेका एकजना अधिकारीले बताएका छन्।

पछिल्लो विपत्तीले निम्त्याएको क्षतिलाई नेपालको पर्यटन क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो मध्ये एक मानिएको छ।

चार दिनको उद्धारपछि पनि अझै केही मानिसहरु सम्पर्कमा आउँन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार चौथो दिनको उद्धार कार्य पुरा भइसक्दा पनि हिमपात प्रभावित क्षेत्रमा अझै केही मानिसहरु फँसिरहेका छन्।

अभाव

झन्डै ५ हजार ५ सय मिटरको उचाइमा अवस्थित थोरोङ्ग ला पास क्षेत्रमा २२ जना व्यक्तिहरु सुरक्षित स्थानमा रहेको, तर उनीहरुले खाना र पानीको अभाव झेल्नु परिरहेको बताइएको छ।

सो क्षेत्रमा बनाइएको हेलिप्याडमा हिउँ जमेपछि उनीहरुको उद्धार गर्न नसकिएको नेपाली सेनाले जनाएको छ।

उक्त क्षेत्रबाट शनिबार एक जापानी महिला र एक नेपालीको शव काठमाण्डु ल्याइएको छ।

शनिबार साँझसम्मको विवरण दिदैँ उद्धार कार्यबारे संयोजन गरिरहेका पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, “अहिलेसम्म २० वटा शव पाइएको छ। १९ वटा हिउँभित्र रहेको भनिएको छ, त्यसबाहेक ३ सय ८४ मानिसलाई जीवितै उद्धार गरिएको छ।”

उद्धार कार्यमा खटिएको नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरु शनिबार झन्डै १९ हजार फिट माथिका हिमाली भेगहरुमा खोजी कार्यमा जुटेका थिए।

त्यसक्रममा मुस्ताङ र डोल्पाको सिमानामा पर्ने हुक गाउँबाट चार जना बेल्जियन र ६ नेपाली सहयोगीलाई उद्धार गरिएको ट्रेकिङ्ग एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ।

दबाब

त्यसै गरी झन्डै साढे पाँच हजार मिटरको उचाइमा अवस्थित साङ्ता पास क्षेत्रबाट २ जना स्वीस पर्यटक र एक नेपाली सहयोगीको उद्धार गरिएको थियो।

नेपाली सेनाले अन्नपूर्ण क्षेत्रमा भने लगभग उद्धार कार्य पुरा भएको र अब कोही हराइ रहेको सूचना आफुहरुलाई नआएको जनाएको छ।

तर सामाजिक सञ्जालमा कतिपय विदेशी पर्यटकका आफन्तहरुले अझै आफ्ना मानिसहरु सम्पर्कमा नआएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

पर्यटन मन्त्रालयका सहसचिव आचार्यले हिउँमा पुरिएर हराइरहेकाहरु बाहेक अरुको अवस्था आइतबारको उद्धार कार्यपछि प्रष्ट हुने बताए।

उनले भने, “हवाइ निरीक्षण पनि लगभग हामीले धेरै ठाउँमा गरेका छौं, अब हिउँमा पुरिएका बाहेक अरुको तथ्यांक आइतबारसम्म आउँछ।”

विदेशी पदयात्रीमाझ लोकप्रिय रहेका हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङ सबैभन्दा बढी प्रभावित भएपछि पछिल्लो विपत्तीप्रति विश्वभरका सञ्चारमाध्यमहरुको चासो देखिएको छ।

यसै मेसोमा मौसमको भविष्यवाणी गर्ने क्षमता बढाउन, दूरदराजमा रहेका हिमाली क्षेत्रका पदयात्रा मार्गहरुमा सुरक्षित आवास र सञ्चार सम्पर्क सुद्धढ पार्न नेपाल सरकारमाथि दबाब बढेको ठानिएको छ।