गंगामायाले ३५५ दिनपछि अनसन तोडिन्

singha durbar
तस्बिरको क्याप्शन,

सरकारले कृष्णप्रसादको हत्यामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने लगायतका प्रतिवद्धता जनाएको छ

छोराको हत्यारालाई कारबाही माग गर्दै झन्डै एक वर्षदेखि अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले शनिबार अबेर राति अनसन तोडेकी छिन्।

सरकारको तर्फबाट कानून तथा न्यायमन्त्री वीर अस्पताल पुगेर हत्यारालाई कानुनी दायरामा ल्याउने, आजीवन उपचार र सम्पूर्ण खर्चब्यहोर्नेसहितका पाँच बुँदे प्रतिवद्धता जनाएपछि उनले झोल पदार्थ पिएर अनसन तोडेको बताइएको छ।

तर सरकारले दोषीलाई कानुनी दायरामा ल्याएपछि मात्रै उनले ठोस पदार्थ खाने बताएको मानवअधिकारकर्मीहरुले बताएका छन्।

प्रतिवद्धता

१० वर्ष अघि एसएलसी सकेर चितवनस्थित मामाघर जाँदै गर्दा आफ्नो छोरा कृष्णप्रसाद अधिकारीलाई तात्कालीन विद्रोही माओवादीले हत्या गरेको भन्दै अनसनमा बसेकी गंगामायालाई सरकारले यसअघि पटकपटक अनसन तोड्न आग्रह गर्दै आएको थियो।

अनसन तोडाउन अधिकारकर्मीहरु सुदिप पाठक, चरण प्रसाइँ, कांग्रेस नेतृ कमला पन्तलगायतको पहल रहेको बताइएको छ।

अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसादको करिब १ महिना अघि निधन भएको थियो।

बाबुआमालाई भेट्न ७ महिनादेखि अस्पताल नपुगेका छोरा नुरप्रसाद अधिकारीले त्रिवि शिक्षण अस्पतालमा रहेको नन्दप्रसादको शव अहिलेसम्म बुझ्न मानेका छैनन्।

तर सरकारले भने गंगामायाको माग अनुसार ससम्मान नन्दप्रसादको अन्त्येष्टी गर्ने प्रतिवद्धता जनाएको छ।