एन्फामा अनियमितता भएको देखियो: फिफा

  • 20 अक्टोबर 2014
Image caption अध्यक्ष पदमा बसेर आर्थिक अनियमितता गरेको भन्दै थापाको चर्को आलोचना हुँदै आएको थियो

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले दुई महिनाका निम्ति भन्दै आफ्नो पदबाट अलग भएको घोषणा गरेकै दिन विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फाभित्र विगतमा आर्थिक अनियमितता भएको देखिएको बीबीसी नेपाली सेवालाई बताएको छ ।

फिफाले सन् २०१२ मा प्रतिष्ठित लेखा परीक्षण गर्ने संस्था केपीएमजी मार्फत गराएको अनुसन्धानबाट एन्फाको आर्थिक कारोबार खासगरी 'गोल प्रोजेक्ट' अन्तर्गत भएका कारोबारहरु सन्तोषजनक ढंगले नगरिएको तथा अनधिकृतरुपमा खर्च गरिएको पाइएको थियो।

फिफाका एक जना प्रवक्ताले बीबीसी नेपाली सेवालाई इमेल मार्फत दिएको जानकारी अनुसार त्यसपछि एन्फाको आर्थिक व्यवस्थापन तथा आन्तरिक प्रशासन सुधार्न फिफाले विशेष सहयोग उपलब्ध गराएको थियो।

एन्फाले आफुले दिएका सुझावहरु कार्यान्वयन गरिरहेको फिफाको भनाइ छ।

हालैका दिनमा एन्फा अध्यक्ष गणेश थापामाथि नेपालमा लगाइएका आरोपहरुबारे आफु जानकार रहेको भन्दै फिफाले थप टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

घोषणा

सोमबार एन्फाको मुख्यालय सातदोबाटोमा गरिएको एउटा पत्रकार सम्मेलनमा थापाले एन्फाबारे भइरहेको अनुसन्धानलाई सहयोग पुर्याउन दुई महिनाका लागि अध्यक्ष पदबाट हट्ने घोषणा गरे।

उनल भने, "म हारेर पनि यदि फुटबलले जित्छ भने म हार्न तयार छु, त्यसैले छानबिनलाई सघाउन म दुई महिनाको लागि आफ्नो सम्पूर्ण जिम्मेवारीबाट हट्ने निर्णय गरेको छु।"

अध्यक्ष थापाले छानबिनबाट जे जस्तो निर्णय आएपनि आफुमाथि लागेको अभियोगले आफ्नो करिअरमा ठूलो धक्का लागिसकेको पनि पत्रकार सम्मेलनमा बताए।

उनले भने, "छानबिन पछि म चोखो हुँला वा नहुँला, तर त्यसले मेरो करिअरमा लागेको धब्बा मेटिएला जस्तो मलाई लाग्दैन।"

अध्यक्ष थापासंगै कोषाध्यक्ष विराटजंग शाहीले पनि पदबाट अलग रहने निर्णय एन्फाको सोमबारको बैठकमा गरेका थिए।

सोही बैठकले कार्यबाहक अध्यक्षको जिम्मा एन्फाका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई तथा कोषाध्यक्षको अधिकार सह कोषाध्यक्ष रविन्द्र जोशीलाई दिएको छ।

जिम्मेवारी

कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले छानबिनले एन्फाको कुनैपनि गतिविधि प्रभावित नहुने गरी काम गर्नु आफ्नो जिम्मेवारी भएको बताए।

उनले भने, "नेपाली फुटबलको कुनै पनि गतिविधि नरोकियोस भन्नेमा हामी गम्भीर छौं, छानबिनको अलमलले राष्ट्रिय लिग जस्ता ठूला कार्यक्रमहरु छायाँमा नपरोस भनी अनि खेलाडीहरुको भविष्य नबिग्रियोस भन्नेमा हामी काम गर्नेछौं।"

थापाले दुई महिनाको लागि पद छोड्नु अगाडि सोमबार झन्डै ६ करोड रुपियाँको लागतमा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको घोषणा गरेको छ।

काठमाडौंका ६ क्लब र जिल्लाको ५ गरी ११ क्लब बीच आगामी मंसिर २२ गतेदेखि सो प्रतियोगिता हुने घोषणा पत्रकार सम्मेलनमा गरिएको हो।

साथै एन्फा अध्यक्ष थापा पदमा नरहेकोले यही कातिक १४ गते हुने तय भएको एन्फाको वार्षिक साधारण सभा पनि स्थगित गरिएको छ।

एन्फामाथि आर्थिक अनियमितता भएको भन्दै एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए।

त्यसपछि लेखा समितिले युवा तथा खेलकुद मन्त्रालयलाई एन्फा अध्यक्ष थापा लगायत चार पदाधिकारीहरुलाई पदबाट बाहिर राखेर एन्फामाथि छानबिन गर्न निर्देशन दिएको थियो।

पछिल्लो समय त्यो निर्देशन पालना गर्न खेलकुद मन्त्रालयलाई लगातार दबाब समेत दिइएको थियो।