'इबोला संक्रमित नर्समा भाइरस देखिएन्'

  • 20 अक्टोबर 2014
तस्वीर कपीराइट ap
Image caption सोमबार राति दोस्रो परीक्षण गरिएपछि टेरेसा रोमेरोलाई इबोलामुक्त घोषणा गरिने बताइएको छ

पश्चिम अफ्रिका बाहिर इबोला भाइरसबाट संक्रमित भएकी पहिलो व्यक्ति स्पेनकी एकजना नर्समा गरिएको रगत परीक्षणको नतिजा नकारात्मक देखिएको त्यहाँको सरकारले जनाएको छ।

४४ वर्षीया टेरेसा रोमेरोमा जाँचका क्रममा संक्रमण नदेखिएको अधिकारीहरुले बताएका छन्।

स्पेन सरकारद्वारा जारी गरिएको एउटा वक्तव्यमा रगत परीक्षण गर्दा रोमेरोको शरीरमा इबोला भाइरस नदेखिएको उल्लेख छ।

विज्ञप्तिमा जनाइए अनुसार सोमबार राति दोस्रो परीक्षण गरिनेछ र उनको स्वास्थ्यमा सकारात्मक सुधार भईरहेको छ।

घोषणा

यद्यपि दोस्रो जाँचपछि मात्र इबोला भाइरसबाट ती नर्स मुक्त भएको घोषणा गरिने बताइएको छ।

रोमेरोको मेड्रिडस्थित कार्लोस तृतीय अस्पतालमा उपचार भईरहेको छ।

यसै महिनाको सुरुतिर इबोला भाइरसबाट संक्रमित दुई जना बिरामीको मेड्रिडमा उपचार गर्ने क्रममा रोमेरो संक्रमित बन्न पुगेकी थिइन्।

इबोला भाइरसको महामारीबाट पश्चिम अफ्रिकामा हालसम्म चार हजार पाँच सय मानिसको मृत्यु भईसकेको छ।

अक्टोबर ६ तारिखमा गरिएको जाँचका क्रममा रोमेरोमा इबोला भाइरस देखिएको थियो।

संक्रमण

पश्चिम अफ्रिकाबाट फर्केका इबोला संक्रमित दुई जना क्रिश्चन धर्मप्रचारकहरुको उनले उपचार गरेकी थिइन्।

उपचारका क्रममा ती व्यक्तिहरुको मृत्यु भएको थियो।

उपचारका बेला लगाइने पोशाक फुकाल्ने क्रममा संक्रमण भएको हुन सक्ने रोमेरोले बताएकी छन्।

दुईमध्ये एकजना धर्मप्रचारकको उपचारपछि पञ्जा लगाएको हातले उनले अनुहार छोएको हुन सक्ने मेड्रिडस्थित एकजना चिकित्सकले बताए।

इबोला संक्रमण भएको हुन सक्ने भन्दै रोमेरोका श्रीमानसहित १५ जनालाई निगरानीमा राखिएको अधिकारीहरुले बताएका छन्।