'हिमाली क्षेत्रको पदयात्रामा कडाइ गरिने'

  • 21 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption पदयात्रीहरुलाई हिमपातबारे पूर्व जानकारी नदिइएको भनी अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको आलोचना गरिएको छ

अन्नपूर्ण पदयात्रा मार्ग र असपासका क्षेत्रमा अघिल्लो हप्ता भएको भीषण हिमपातमा २१ विदेशी पर्यटक सहित ४१ जनाको ज्यान गएपछि सरकारले पदयात्रा पर्यटन सुरक्षित र व्यवस्थित गर्ने उपायहरु लागू गर्ने वाचा गरेको छ।

पदयात्रा मार्गहरुमा स्वदेशी र विदेशी पर्यटकहरुको आवतजावतको अभिलेख प्रणाली सदृढ पार्ने र तालिम प्राप्त पथप्रदर्शक लैजानुपर्ने व्यवस्था वाध्यकारी बनाउने सहितका निर्णय गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

साथै पथ प्रदर्शकहरुलाई मौसम पूर्वानुमान सम्बन्धी सूचनाहरुको सही प्रयोग गर्ने उपायबारे तालिम दिने र पदयात्रामा जाने समूहहरुको स्थलगत जानकारी पाउन जिपिएस प्रविधिको उपयोग गर्नेबारे छलफल शुरु गरेको बताइएको छ।

गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर असोज २७ र २८ गते भएको भीषण वर्षाले हिमाली र पहाडी भेगका जिल्लाहरुमा निम्त्याएको भीषण हिमपात र हिमपहिरोमा २० नेपाली सहित ४१ जनाको ज्यान गएको र ५ सय १८ जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएको छ।

विफल

कठिन भौगौलिक क्षेत्रमा चलाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो मध्येको भनिएको खोज तथा उद्धार कार्वाहीका क्रममा सेनाले १७ हजार फिट भन्दा माथिको उचाइमा समेत उडान गरी सहसिक उद्धार कार्य अघि बढाएको अधिकारीहरुले बताए।

विश्वमै लोकप्रिय अन्नपूर्ण पदयात्रा मार्ग र आसपासका विकट इलाका पछिल्लो हिमपातले प्रभावित भएका थिए।

त्यस क्षेत्रको भ्रमण गरिरहेका पर्यटकहरुको अभिलेख व्यवस्थित रुपमा राख्न नसक्दा हिमपातमा कति फसिरहेका छन् भन्ने विवरण तत्कालै दिन सरकार विफल भएको थियो।

विगतमा पदयात्रामा जाने नेपालीहरुको विवरण नराख्ने गरिएको तर यो घटनापछि स्वदेशी र विदेशी दुवै पदयात्रीहरुको दर्ता प्रणालीलाई सुदृढ पार्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको गृहसचिव सूर्य सिलवालले बताए।

उनले भने, “अब उप्रान्त विदेशी वा स्वदेशी ट्रेकिङ रुटमा जाँदै छ भने भित्रिने र निस्कने ठाउँमा रिपोर्ट हुनुपर्छ भन्ने निर्देशन भएको छ।”

बंगालको खाडीबाट शुरु भएको हुदहुद नामक सामुन्द्रिक आँधीका प्रभावले हिमपात र हिमपहिरोहरु अचानक आइपरेको अधिकारीहरुको भनाइ छ।

परिमाण

अधिकारीहरुले सरकारले उक्त आँधीका कारण वर्षा र हिमपात हुनसक्ने भविष्यवाणी पहिल्यै गरेको तर त्यसको परिमाण यत्रो ठूलो हुने अनुमान भने गर्ने नसकेको जनाएका छन्।

मौसम सम्बन्धी जानकारीलाई ट्रेकिङ सम्बद्ध निकायहरुले कम प्राथमिकतामा राखेको भन्दै सरकारले यस घटनाबाट पाठ सिकेर पथ प्रदर्शकहरुलाई मौसम पूर्वानुमान सम्बन्धी सूचनाहरुको सही प्रयोग गर्ने उपाय बारे तालिम दिइने पनि जनाएको छ।

यस घटनाबाट पाठ सिकेर तालिमप्राप्त गाइड विना पदयात्रामा जान निरुत्साहित गर्नेबारे छलफल शुरु गरिएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए।

उनले भने, “तालिमप्राप्त गाइडहरुको समूह बनाउने र पदयात्रा गर्ने क्षेत्रमा जिल्ला प्रशासन र प्रहरीले जाँच गरेर मात्रै समूहलाई त्यस्ता गाइड पठाउने विषयमा कडाइ गरेपछि यस्तो घटना घटाउन सकिन्छ।”

अधिकारीहरुले भूउपग्रह मार्फत पदयात्री पुगेको स्थानको सूचना संकलन गर्न सकिने जीपिएस प्रणाली लागू गर्ने विकल्पका बारे पनि छलफल शुरु गरेको बताएका छन्।

प्राकृतिक विपत्तीका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय क्षति हुँदा विगतमा पनि यस्तै प्रतिबद्धता जनाएको तर त्यसको कार्यान्वयन गर्ने बेलामा चाहिं सेलाएको भन्दै सरकारको आलोचना हुने गरेको छ।