कोबानी सहरमा पुनः संघर्ष सुरु

  • 21 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption अमेरिकी विमानले कुर्द लडाकुहरुका लागि हातहतियार खसालेपछि फेरि संघर्ष सुरु भएको हो।

इस्लामिक स्टेट विद्रोहीले रणनीतिक महत्वका साथ हेरेको भनिएको सिरियाको कोबानी सहरमा सोमबारदेखि फेरि संघर्ष सुरु भएको अधिकारीहरुले बताएका छन्।

तुलनात्मक रुपमा दुई दिनदेखि शान्त देखिएको सिरियाको कोबानीमा कुर्द लडाकुहरुले विद्रोहीलाई पछाडि धकेलेको बताइएको छ।

टर्कीले इराकका कुर्द पेशमर्गा लडाकुहरुलाई इस्लामिक विद्रोहीविरुद्ध लड्नका निम्ति सिरिया प्रवेश गर्न दिने बताएपछि कोबानीमा पुनः संघर्ष सुरु भएको हो।

टर्कीको उक्त निर्णय कुर्द लडाकुहरुको नैतिक बल बढाउनका लागि महत्वपूर्ण भएको ठानिएको छ।

सहानुभूति

इराकको कुर्द क्षेत्रका अधिकारीहरुले सुरक्षा फौज पठाउन आफूहरु तयार रहेपनि त्यसबारे अहिलेसम्म कुनै आदेश नआएको बताएका छन्।

आफ्नै भूमिमा कुर्दहरुको विद्रोहको सामना गरेको टर्कीले अहिलेसम्म पेशमर्गा लडाकुहरुलाई सिरिया प्रवेश गर्न दिन अस्वीकार गर्दै आएको थियो।

तर संवाददाताहरुका अनुसार इराकी कुर्दहरुप्रति अंकाराले सहानुभूति देखाएको छ।

कोबानीस्थित एकजना वरिष्ठ कुर्द प्रतिरक्षा अधिकारी इस्मत हसनले भने, "हामीहरुले इस्लामिक स्टेट विद्रोहीविरुद्ध अगाडि बढ्ने प्रयास थालिसकेका छौं र अहिले भारी हातहतियार आवश्यक छ।"

संघर्ष

सोमबार रात पर्नासाथ उत्तरी कोबानीमा भीषण संघर्ष सुरु भएको छ।

अमेरिकी नेतृत्वको गठबन्धन फौजले कोबानी आसपास क्षेत्रमा आइतबार र सोमबार गरी ६ वटा हवाई आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ।

टर्कीसँग सीमा जोडिएको कोबानी सहरलाई इस्लामिक विद्रोहीले महत्वपूर्ण रुपमा हेरेको छ।

विद्रोही र कुर्द लडाकुबीचको संघर्षका कारण अधिकांश मानिसहरु उक्त सहर छोडेर भाग्न बाध्य भएका छन्।