‘दक्षिण कोरियामा श्रमिकहरुमाथि शोषण’

  • 21 अक्टोबर 2014
कृषि कामदार तस्वीर कपीराइट AFP
Image caption कामदारहरुले बढी समय काम गर्नुपर्ने, दैनिक विश्राम र साप्ताहिक विदा नपाउने गरेको प्रतिवेदनमा जनाइएको छ

एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सोमबार सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार दक्षिण कोरियामा पनि खासगरी कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरुमाथि शोषण र जबरजस्ती हुने गरेको छ।

एम्नेस्टी इन्टरनेसनलले गरेको अध्ययनमा इपीएसमार्फत पठाइने आप्रवासी श्रमिकहरुलाई पहिले बताइएकोभन्दा फरक शर्त र अवस्थामा काम लगाइने गरेको उल्लेख गरिएको छ।

१ वर्षभन्दा बढी समय लगाएर तयार पारिएको उक्त अध्ययन प्रतिवेदनमा सजिलो काम कोरियाली कामदारहरुलाई दिइने र अप्ठेरो कामहरुमा आप्रवासी कामदारहरुलाई लगाइने गरिएको उल्लेख छ।

कामदारहरुले ८ घण्टाभन्दा बढी समय काम गर्नुपर्ने, दैनिक विश्राम र साप्ताहिक विदा नपाउने गरेको जनाइएको छ।

वञ्चित

विश्वव्यापी रुपमा एकसाथ सार्वजनिक गरिएको उक्त प्रतिवेदन नेपाल, भियतनाम र कम्बोडियाबाट काम गर्न कोरिया गएका श्रमिकहरुसँगको कुराकानीका आधारित रहेको छ।

कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरु आधारभूत अधिकारहरुबाट समेत वन्चित रहने गरेको पाइएको बताउँछन एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी।

उनले भने, “त्यहाँ श्रमिकहरु माथि जुन किसिमको अन्याय गरिएको छ।”

"जुन न्युनतम काम गर्ने समयदेखि लिएर विचारहरु राख्ने अधिकारहरु कुण्ठित गरिएका छन्।"

"स्वास्थ्य, आवास लगायतका विषयहरुमा गम्भीर नभएको अवस्था छ।"

सम्झौता

करिब आधा कामदारहरुलाई सम्झौता गर्दा एउटाले लैजाने र त्यहाँ गएर अर्कालाई र सम्झौताभन्दा फरक काममा लगाउने गरिएको पाईएको प्रतिवेदनमा उल्लेख छ।

उनीहरुले धम्की र हिंसा समेत भोग्नु परेको त्यसमा उल्लेख छ।

कोरियाको श्रमिक ऐनले कृषि श्रमिकहरुलाई नसमेटेकोले उनीहरुले यस्तो समस्या झेल्नु परेको एम्नेस्टीले जनाएको छ।

एम्नेस्टीले श्रमिकहरुको यस्तो अवस्थालाई तत्काल सम्बोधन गर्न दक्षिण कोरिया सरकारलाई आग्रह गरेको छ भने श्रमिक पठाउने देशलाई श्रमिकहरुले पाउने सेवा सुविधा लगाएतका सम्पूर्ण विषयहरुलाई देश सँग गरिने सम्झौतामै उल्लेख गर्न आह्वान गरिएको छ।