पिस्टोरियसलाई पाँच वर्षको जेल सजाय

  • 21 अक्टोबर 2014
तस्वीर कपीराइट AFP
Image caption फैसला लगत्तै पिस्टोरियसलाई प्रहरी भ्यानमा राखेर कगोसी माम्पुरु जेलमा लगिएको थियो।

दक्षिण अफ्रिकी धावक ओस्कार पिस्टोरियसलाई आफ्नी प्रेमिकाको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ।

दुबै खुट्टा नभएका ती प्यारालम्पिक धावकलाई नियतवश हत्या गरेको अभियोगमा सफाई दिइएपनि दुर्घटनावश हत्या गरेको अभियोगमा भने दोषी पाइएको छ।

ओस्कारले आफ्नो घरको बाथरुमको ढोकाबाहिरबाट हानेको गोली लागेर गत वर्ष भ्यालेन्टाइन दिवसका दिन उनकी २९ बर्षीय प्रेमिका रिभा स्टिनक्याम्पको निधन भएको थियो।

सरकारी वकिलहरुले उनी विरुद्ध कम्तीमा १० वर्षे जेल सजायको माग गरेका थिए।

प्रतिक्रिया

तर प्रतिवादी पक्षले चाहिं सार्वजनिक सेवा र नजरबन्दनै काफी हुने जिकिर गरेका थिए।

न्यायाधीशले आफ्नो फैसला सुनाएपछि रिभा स्टिनक्याम्पका आमाबुबाले आफुहरु त्यसबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।

पिस्टोरियसका काका आर्नोल्ड पिस्टोरियसले भने, "यो पुरै मुद्दाका दौरान मलाई सबैभन्दा बिझेको कुराचाहिं कसरी वादी पक्षले यस घटनालाई नियोजित हत्याको रुपमा प्रस्तुत गर्न खोजिरहे भन्ने नै रह्यो, अहिले अदालतले फैसला दिएको छ र हामी त्यसलाई स्वीकार्छौं।"

फैसलापश्चात पिस्टोरियसले खासै कुनै प्रतिक्रिया देखाएनन्।

अनुमति

उनले आँखाको आँसु पुछेको देखिन्थ्यो।

उनका वकिलका अनुसार अब फैसला अनुसार पिस्टोरियसले करीब १० महिनाजति जेलमा र बाँकी अवधि घरमै नजरबन्द अवस्थामा बिताउने छन्।

बीबीसी सम्वाददाता भन्छन्, पिस्टोरियसको शारिरिक अवस्थालाई ध्यान दिएर उनलाई कुन जेलमा राखिने भन्ने निर्णय गरिनेछ।

यसैबीच अन्तर्राष्ट्रिय प्यारालम्पिक कमिटिले आउँदो पाँच वर्षसम्म उनलाई कुनै पनि खेलमा भाग लिन अनुमति नदिइने जनाएको छ।