इजिप्ट अस्तित्वको लडाईंमा:राष्ट्रपति सिसी

  • 25 अक्टोबर 2014
इजीप्टका राष्ट्रपत‌ि अल सिसि तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति सिसिले जनतालाई सरकार र सेनाका पछाडी एकताबद्ध हुन आह्वान गरेका छन्

इजिप्टको, साइनाई प्रायद्वीपमा तीसजना सैनिकहरुको ज्यान जाने गरी हमला भएको एकदिन पछि बोल्दै, राष्ट्रपति अब्दुल फत्तह अल सिसीले- देशले आफ्नो अस्तित्व रक्षाका लागि जिहादीहरु विरुद्ध लडाईं गर्नु परिरहेको बताएका छन्।

देशका सैन्य प्रमुखहरुलाई साथमा राखी देशवासीलाई टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति अल सिसीले इजिप्टका विरुद्ध बाहिरी शक्तिहरुले ठूलो षड्यन्त्र गरिरहेको भनी सावधान गराएका थिए।

राष्ट्रपति अल सिसीले प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत देशवासीलाई आक्रोश र भावपूर्ण सम्बोधन गरेका थिए।

षड्यन्त्र

उनले देशविरुद्ध ठूलो षड्यन्त्र भएको भन्दै त्यसको चर्को निन्दा गरेका थिए।

त्यसका लागि उनले बाह्य शक्तिलाई दोष दिंदै इजिप्टका जनतालाई हतास नहुन र सरकार तथा सेनाका पछाडि एकतावद्ध भएर लाग्न आग्रह समेत गरे।

"त्यस्तो षड्यन्त्र इजिप्ट र इजिप्टका जनतालाई टुक्र्याउनका लागि भैरहेको छ र इजिप्टले आफ्नो अस्तित्वका लागि लडाईं गर्नु परिरहेको छ," राष्ट्रपति सिसीको भनाई थियो।

साइनाइ प्रायद्वीपमा शुक्रबार भएका दुईवटा आक्रमणहरुमा कम्तीमा तीस जना सैनिकहरु मारिएका थिए।

उक्त हमलाका लागि हालसम्म कुनै समूहले पनि जिम्मेवारी दावी गरेको छैन र उत्तरी साइनाइमा जिहादीहरु विरुद्ध सेनाले आक्रामक कारवाही जारी राखेका बेला त्यस्ता हमला भएको छ।

प्राथमिकता

शुक्रबार साइनाईमा भएको रक्तपातको ठूलो स्तरले, सन् २०११ मा होस्नी मुबारकलाई सत्ताच्यूत गरिएयता कानूनहीन बन्दै गैरहेको, त्यस क्षेत्रलाई फेरि एकपटक प्राथमिकतामा ल्याइदिएको छ।

गत वर्ष ठूलो विरोध प्रदर्शनका माझ सेनाले इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरेयता उग्रवादीहरुले त्यहां आक्रमणहरुमा वृद्धि गर्दै लगेका छन्।

अब साइनाइ क्षेत्रमा तीन महिनासम्म संकटकाल र देशैभरि तीन दिने शोकको घोषणा गरिएको छ।

इजिप्टबाट गाजा स्ट्रीपमा प्रवेश गर्ने राफाह नाका पनि बन्द गरिएको छ।

बीबीसीका अरब मामिला सम्पादक सेबास्टीएन अशर भन्छन्, साइनाई क्षेत्रमा विगतका सैनिक कारवाहीहरुले हासिल गर्न नसकेका कुरा राष्ट्रपति सिसीले कसरी प्राप्त गर्न सक्लान् भन्ने अन्योल भने इजिप्टेलीहरु माझ देखिन्छ।