‘मैत्री धर्मशाला निर्माण प्रक्रिया सुरु’

  • 25 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption पशुपतिनाथ परिसर संरक्षणका लागि घोषणा भएको रकम भने अझै नआएको अधिकारीहरुले बताएका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट गत साउनमा नेपाल भ्रमणका बेला घोषणा गरिएको नेपाल-भारत मैत्री धर्मशाला निर्माणका लागि प्राविधिक मूल्यांकनको काम सुरु भएको नेपाली अधिकारीहरुले बताएका छन्।

तीन महिनाभित्र धर्मशाला निर्माणको काम अघि बढाउने मोदीको घोषणा अनुसार प्रक्रिया सुरु भएको पशुपति विकास कोषका एक अधिकारी बताउँछन्।

पशुपति क्षेत्रमा सुलभ शौचालय निर्माण कार्यका लागि पनि प्रस्ताव तयार भईरहेको ती अधिकारीको भनाइ छ।

नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा विशेष पुजाअर्चना गरेका मोदीले काठमाण्डूमा नेपाल-भारत मैत्री धर्मशाला निर्माणका लागि २७ करोड भारतीय रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए।

प्रक्रिया

पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुका अनुसार गत १२ वर्षदेखि त्यसतो धर्मशाला निर्माण गर्ने चर्चा चल्दै आएपनि चर्चामै सीमित थियो।

तर मोदीले आफ्नो भ्रमणको समयदेखि तीन महिनाभित्र निर्माण प्रक्रिया थालिने घोषणा गरेका थिए।

त्यही घोषणाको मर्मअनुरुप प्रक्रिया अघि बढेको कोषका सदस्य सचिव गोविन्द टण्डन बताउँछन्।

“यसको प्राविधिक मुल्यांकन भईरहेको जानकारी हामीले पाएका छौं। बन्नलाई त एक डेढ वर्ष लाग्ला। चाँडोभन्दा चाँडी परिणाम आउनेमा हामी आशावादी छौं।”

राजधानीको तिलगंगामा निर्माण गरिने उक्त मैत्री धर्मशाला चार सय बेड क्षमताको हुने बताइएको छ।

महत्व

करिब डेढ दुई वर्षमा तयार हुने भनिएको उक्त धर्मशाला भारतीय र नेपाली दर्शनार्थीहरुका लागि विशेष महत्वको हुने टण्डनको भनाई छ।

उनका अनुसार काठमाण्डूस्थित भारतीय राजदुतावासले निर्माण गर्ने भनिएको सुलभ शौचालय निर्माणका लागि पाँच करोड रुपैयाँ छुट्याइसकिएको र त्यसको प्रस्ताव पनि तयार भईरहेको छ।

यद्यपि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रको विकासका लागि घोषणा गरेको सहयोग रकम प्राप्त नहुँदा उक्त योजना अगाडि बढ्न नसकेको अधिकारीहरुले बताएका छन्।

त्यसबारे टण्डनले भने, “त्यो रकम आइसकेको छैन्। रकम आएपछि कसरी गर्ने त्यसका कार्यविधि बनाउन बाँकी छ।”

नेपाल सरकारको तर्फबाट सहमति भईसकेको र रकम प्राप्त भएपछि कार्यविधि बनाएर अगाडि बढाइने टण्डनले बताए।