‘इबोला संक्रमितको संख्या १० हजार नाघ्यो’

  • 26 अक्टोबर 2014
तस्वीर कपीराइट epa
Image caption लाइबेरियामा अहिले बिरामी र मृतकका संख्यामा वृद्धि नहुनुलाई सकारात्मक रुपमा लिइएको छ

पश्चिम अफ्रिकी तीनवटा मुलुकहरु बाहिर खासै बिरामीहरु नदेखिएपनि इबोला भाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या १० हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनको ताजा रिपोर्ट अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ९ सय २२ पुगेको छ।

इबोला भाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या १० हजार १ सय ४१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

धेरै परिवारहरुले उपचार केन्द्र नलगी घरमै बिरामीहरुलाई राखिरहेकाले संक्रमित हुने मानिसहरुको संख्या अझ बढी हुन सक्ने संगठनको भनाई छ।

खचाखच

धेरै उपचार केन्द्रहरु बिरामीले खचाखच भएका छन्।

संगठनको पछिल्लो रिपोर्टले यसअघि लाइबेरियामा मृत्यु भएका र संक्रमित भएका पाइएकाहरुको संख्यामा कुनै वृद्धि नभएको देखाएको छ।

सेनेगल र नाइजेरियालाई इबोला भाइरसमुक्त मुलुक घोषणा गरिएको छ।

इबोला भाइरसबाट नराम्ररी प्रभावित सियरा लियोन, लाइबेरिया र गिनी बाहिर २७ जनामा मात्र उक्त भाइरसको संक्रमण देखिएको संगठनले जनाएको छ।

उक्त भाइरसबाट मृत्यु हुनेहरुमध्ये १० जनामात्र तीनवटा मुलुक बाहिरका छन्।

प्रभावित

पछिल्लो पटक मालीमा दुई वर्षीया बालिकाको उक्त भाइरसबाट ज्यान गएको छ।

उनीसँग सम्पर्कमा आएका ४० जनाभन्दा बढी मानिसहरुलाई निगरानीमा राखिएको छ।

दुई हजार ७ सय ५ जनाको मृत्युसहित लाइबेरिया इबोला भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको संगठनको पछिल्लो रिपोर्टमा उल्लेख छ।

त्यस्तै सियरा लियोनमा १ हजार २ सय ८१ र गिनीमा ९ सय २६ जनाको मृत्यु भएको छ।

संगठनका अनुसार उक्त भाइरसका कारण नाइजेरियामा ८ जना र अमेरिकामा एक जनाले ज्यान गुमाएका छन्।