डुंगा कप्तानविरुद्ध मृत्युदण्डको माग

  • 27 अक्टोबर 2014
Image caption डुबेको डुंगामा परेकाहरुको उद्धार कार्यमा ढिलाई भएकोमा निकै आलोचना भएको थियो

दक्षिण कोरियामा ६ महिना अगाडि डुंगा डुबेर तीन सयजनाको ज्यान गएको घटनालाई लिएर सरकारी अभियोजनकर्ताहरुले डुंगाका कप्तानविरुद्ध मृत्युदण्डको सजाय माग गरेका छन्।

दक्षिणपश्चिमी शहर ग्वांग्जुको अदालत समक्ष जिकिर गर्दै उनीहरुले कप्तान ली जुन स्योकले डुंगाको उचित सञ्चालन गर्न नसकेको अनि समस्या परेपछि यात्रुहरुलाई अलपत्र छाडी भागेको अभियोग लगाएका छन्।

जुन महिनामा शुरु भएको उक्त मुद्दामा अन्तिम बहस गर्दै सरकारी वकिलहरुले त्यस्तो माग गरेका हुन्।

कप्तान ली ले कसैको ज्यान लिने आफ्नो उद्देश्य नरहेको भन्दै आएका छन्।

कारावास

डुंगाका चालक दलका तीन सदस्यहरु विरुद्ध आजीवन कारावास तथा अन्य ११ जना विरुद्ध लामो जेल सजायका माग गरिएको छ।

सिवोल नामक उक्त डुंगा डुब्दा देशभर शोक छाएको थियो।

सुरक्षाका लागि अपनाइने गरिएका उपायहरु र दुर्घटनापश्चात सरकारले गरेको उद्धार कार्यको धेरै आलोचना भएको थियो।

मारिनेहरुमध्ये अधिकांश स्कूलको शैक्षिक भ्रमणमा रहेका केटाकेटीहरु थिए।

मुद्दा चलिरहेको ग्वांग्जु शहरमा दोषी विरुद्ध अधिकतम सजायको माग गर्दै नारा लगाइएको छ।

एक मृतककी आमा लीम योङ्ग एइले भनिन्, “एउटी अभिभावकको रुपमा मैले मेरो बच्चा कसरी मारियो भनेर जान्नै पर्छ। मलाई आशा छ अभियोजनकर्ताहरुले अधिकतम सजाय माग्ने छन् ताकि मेरो बच्चाको आत्मालाई शान्ति मिलोस्।”

सोलस्थित बीबीसी सम्वाददाता भन्छन् गएको दुई दशकयता दक्षिण कोरियामा कसैलाई मृत्युदण्ड दिइएको छैन।