"पश्चिमाहरुको आलोचनाले आश्चर्यचकित छु"

  • 28 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption अमेरिकाको हवाइ हमलाले पनि कोबाने सहरलाई जोगाउन गाह्रो भैराखेको छ

टर्कीका प्रधानमन्त्री डाभुटोलुले सिरियास्थित इस्लामिक स्टेटका विद्रोहीहरुमाथि आफ्नो देशले चालिरहेको रणनीतिको पश्चिमा देशहरुले गर्दै आएको आलोचनाले आफू आश्चर्यचकित भएको बताएका हुन्।

बीबीसीलाई अन्तर्वार्ता दिँदै उनले पश्चिमा सरकारहरुले नै सिरियाको उत्तरी सहर कोबानेमा त्यहाँका विद्रोही जिहादी समूहमाथि स्थलगत सैन्य टोली पठाउन नसकेको बेला, त्यो टर्कीले गरोस् भन्ने अपेक्षा राख्नु गलत हुने बताए।

अमेरिकी नेतृत्वको रणनीतिक गठबन्धनले आफ्नो सैन्य अभियान सिरियाली राष्ट्रपति असादको फौजविरुद्ध समेत लक्षित गरेपछि मात्रै टर्कीले पनि सेना परिचालन गर्ने प्रधानमन्त्री डाभुटोलुले बताए।

टर्कीको सरकारले सिरियाका लडाकुहरुलाई पर्याप्त नसघाएको भन्ने आरोपहरुलाई उनले अस्वीकार गरेका छन्।

अहिलेसम्म पश्चिमा र केही अरब देशहरुको गठबन्धनले हवाइ हमला सिरिया र इराकस्थित जिहादीहरुमाथि केन्द्रीत गरेको छ।

अस्वीकार

उनले बरु कोबानेमा लडाई गर्नका लागि सिरियाका विद्रोही समूहलाई आफूहरुले सैन्य सामाग्री उपलब्ध गराउने र तालिम दिएर सघाउने कार्यलाई द्रुत बनाउने बताएका छन्।

तर उनले केही आधारभूत विषयहरु प्रष्ट नभएसम्म गठबन्धन सेनाका लडाकू जहाजहरुको इन्धन भर्न टर्कीका सैन्य आधार शिविरहरुमा पहुँच दिने मामिलाबारेको वार्ता नसल्टने बताए।

साथै उनले ती विषयहरुको प्रष्टता नभएसम्म हाल जारी हवाइ हमला पनि सफल हुन नसक्ने बताए।

कोबानेलाई जोगाउनु महत्वपूर्ण हो भन्दै प्रधानमन्त्रीले कोबाने सिरियामा व्याप्त संकटको केवल एक हिस्सा मात्र रहेको विर्सन नहुने बताए।

पश्चिमा देशहरुले पछिल्ला हवाइ हमलामा आफ्नो निशाना इस्लामिक स्टेटलाई मात्रै बनाइरहेका छन्, जसले अहिले सिरिया र इराकको ठूलो क्षेत्रलाई नियन्त्रणमा लिइरहेका छन्।

इस्लामिक स्टेटको क्रुरता कोबानेमा बढिरहेको बेला अमेरिकाको तत्कालको प्राथमिकतामा उक्त सहरलाई जोगाउनु रहेको छ।