अष्ट्रेलियाली निर्णयको आलोचना

  • 29 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption नागरिक सुरक्षाका लागि पछिल्लो कदम चालिएको अध्यागमनमन्त्री स्कट मरिसनले बताएका छन्

इबोला प्रभावित पश्चिम अफ्रिकी मुलुकका मानिसहरुले पहिल्यै लिइसकेको गैर आवासीय र अस्थायी भीसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णयको व्यापक आलोचना भएको छ।

सियरा लियोनले उसकै शब्दमा उक्त निर्णय प्रतियुत्पादक र विभेदकारी भएको जनाएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले पनि उक्त निर्णयको आलोचना गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले यात्रामाथि लगाइने प्रतिबन्धले इबोलाविरुद्ध लड्ने प्रयासमा कमी ल्याउने बताएका छन्।

प्रतिबन्ध

इबोला भाइरसबाट मृत्यु हुने ५ हजार मानिसहरुमध्ये अधिकांश सियरा लियोन, लाइबेरिया र गिनीका रहेका छन्।

अष्ट्रेलिया सरकारले इबोला प्रभावित मुलुकका मानिसहरुले लिएको गैर आवासीय र अस्थायी भीसा रद्द गर्ने सोमबार घोषणा गरेको थियो।

साथै उसले नयाँ भीसाका लागि प्रक्रिया पनि रोक्ने जनाएको थियो।

स्थायी भीसा लिएकाहरु अष्ट्रेलिया प्रस्थान गर्नुअघि २१ दिनसम्म निगरानीमा बस्नुपर्नेछ।

अध्यागमनमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली नागरिहरुलाई सुरक्षित राख्न सरकारी प्रक्रियाहरुले काम गरिरहेको त्यहाँको संसदलाई बताए।

प्रतियुत्पादक

तर सियरा लियोनका सुचनामन्त्री अल्फा कानुले अष्ट्रेलियाको उक्त कदम निकै कठोर भएको बताए।

उनले सियरा लियोनको फ्रीटाउन विमानस्थलमा भईरहेको जाँचका कारणले इबोला संक्रमित कोही पनि मुलुक बाहिर जान नपाएको जनाए।

उनले भने, “यो इबोलाविरुद्ध नभई सियरा लियोन, लाइबेरिया र गिनीका २ करोड ४० लाख मानिसहरुविरुद्ध छ। वास्तवमा यो उचित कदम होईन। अष्ट्रेलिया सरकारले चालेको यो कदम एकदमै प्रतियुत्पादक छ।”

युगाण्डा सरकारका प्रवक्ताले उनकै शब्दमा पश्चिमा मुलुकहरुले आममानिसहरुमा आतंक फैलाईरहेको र त्यसबाट इबोला जस्ता रोग नियन्त्रणमा असहयोग भईरहेको बताए।

अष्ट्रेलियाले संकीर्ण बाटो अपनाएको एम्नेस्टी इन्टरनेशनलले प्रतिक्रिया दिएको छ।