भारतमा घरेलु हिंसाका घटना बढ्दो

  • 29 अक्टोबर 2014
घरेलु  हिंसाको उजुरी दरमा बृद्धि तस्वीर कपीराइट BBC World Service

भारतमा झण्डै हरेक पाँच मिनेटमा, घरेलु हिंसाको एउटा घटनाको उजुरी पर्ने गरेको छ।

त्यस्ता घटना भारतको कानूनले नै परिभाषित गरेको “श्रीमान तथा उनका अन्य नातेदारले गर्ने ज्यादती” अन्तरगत पर्ने खालका रहेका छन्।

“मेरो श्रीमानले कोठामा छिरेर चुकुल लगाउंथे। बाहिरकाले हाम्रो आवाज नसुनुन् भनेर ठूलो आवाजमा गीत बजाउंथे। अनि आफ्नो पेटीले मलाई बेस्सरी पिट्थे। आधा घण्टासम्म त्यसरी मलाई पिट्ने गरिन्थ्यो।“

घरेलु हिंसा बेहोर्ने करोडौं भारतीय महिलाहरु मध्ये अदिति(नाम परिवर्तन)‌ पनि एकजना हुन्।

आफूलाई त्यसरी पिटिरहँदा श्रीमानले कुनै आवाज ननिकाल्न र नरुन चेतावनी दिने गरेको उनले बताइन्। उनका श्रीमानले त्यसरी आफ्नो रिस पोख्‍ने गर्दथे।

त्यस्तो घटना हुंदा अदिति १९ बर्षकी मात्र थिइन् र उनको “भव्य” विवाह भएको एक बर्ष मात्रै भएको थियो।

“श्रीमानले विस्तारै मलाई गाली गर्न र बेवास्ता गर्न थाले। मेरो बुवाले पनि रक्सी पीएर आमालाई तथानाम गाली गर्थे, त्यसैले मलाई लाग्थ्यो यो सब जीवनको एउटा हिस्सा नै हो।“

तस्वीर कपीराइट BBC World Service

तर अवस्था झन झन खराब हुंदै गयो, उनले रुंदै बताइन्।

खोट

“वर्षहरु बित्दै जाँदा दुर्व्यवहार पनि बढ्दै गए। मैले सोचें की श्रीमानले जे जे भन्छन् त्यसै त्यसै गरे शायद अवस्था ठीक होला की। तर उनले जहिले पनि कुनै कुनै बहानामा मेरो खोट निकालीहाल्थे।

"उनी बाहिरबाट घर आउंदा मलाई के गर्छन् भन्ने नै अनुमान गर्न नसकिने भैसकेको थियो। उनली मलाई गाली गर्थे, भुईंमा लडाउंथे अथवा त्यतिकै पिट्थे।“

यो क्रम सन् २०१२ को अप्रिलसम्म चल्यो। त्यही अप्रिल महिनाको कुनै दिन, विवाह भएको ६ वर्षपछि, उनी आफ्ना साथीहरुको सहयोगमा घरबाट भाग्न सफल भइन्।

अहिले अदितिले आफ्नो विगतलाई पछाडि छोडीसकेकी छिन्। उनी एउटा गैरसरकारी संस्थामा काम गर्छिन् र आफ्नो जीवनलाई नयाँ रुप दिने कोशिस गर्दै छिन्।

अदितिले भोग्नु परेको अवस्था भारतमा आक्कल झुक्कल हुने नौलो घटना होइन।

तथ्यांकहरुका अनुसार, विगत दश बर्षदेखि घरेलु हिंसाको घटना हरेक बर्ष सबैभन्दा धेरै उजुरी पर्ने महिला विरुद्धको हिंसात्मक अपराधमा पर्दै आएको छ र त्यस्ता घटनाहरु वर्षैपिच्छे बढ्दै गइरहेका छन्।

तस्वीर कपीराइट BBC World Service

घरेलु हिंसाका घटनाहरु भारतमा मात्रै हुने होइनन्, तर अझै पनि त्यस्ता घटनाबारे मौन बस्ने जुन संस्कारको घेरामा भारत छ त्यस्ले उस्लाई अन्य देशहरुको दांजोमा पृथक देखाउने गरेको छ।

सहयोग

अदितिले आफूले भोग्नु परिरहेको यातनाबाट छुटकारा पाउन आफ्नी आमाको सहयोग लिन खोज्दा पनि कुनै सहानुभुति पाउन सकेकी थिइनन्।

उनले त्यो बेला सम्झँदै भनिन्, “जब म आमालाई मेरो खुट्टाको चोट देखाउँथे र श्रीमानले जवरजस्ती गरेको बताउथेँ, उनी मलाई आफ्नो श्रीमानका बारेमा कसरी त्यस्तो कुरा गर्न सकेकी भनेर उल्टै प्रश्न गर्थिन्।

"उनी जसरी भएपनि सहेर मैले आफ्नो विवाहीत जीवनलाई जोगाउनु पर्छ भन्थिन्।“

तस्वीर कपीराइट BBC World Service

महिलाहरुलाई घरेलु हिंसाबाट जोगाउन भारतले सन् २००५ मा नयाँ कानुन ल्याएको थियो।

तर त्यस्तो कानूनलाई फौजदारी अभियोजनमा प्रयोग गर्न नसकिने भएकोले हिंसाको लहरलाई जरैबाट उखल्न त्यो सफल हुन सकेन्।

सरकारले पछिल्लोपटक गरेको एउटा विस्तृत सर्वेक्षणले देखाए अनुसार, यदि कुनै विवाहित महिलाले आफ्नो पतिको परिवारका सदस्यलाई अनादर गरेमा, घर र छोराछोरीलाई बेवास्ता गरेमा अथवा खानेकुरामा कम वा बढी नुन हाल्ने जस्तो अति सामान्य विषयमा समेत उनलाई उनको पतिले मारपीट गरेमा त्यो जायज हुन्छ भन्नेहरुमा झन्डै ५४ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलाहरु रहेको पाइएको छ।