‘राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया शुरु’

  • 29 अक्टोबर 2014
निर्वाचन आयोग
Image caption राष्ट्रिय परिचय पत्रलाई मतदाता परिचयपत्र र अन्य पहिचानको लागि प्रयोग गर्न मिल्ने प्रस्ताव गरिएको छ

१६ वर्ष उमेर पुगेका नागरिकहरुलाई दिइने राष्ट्रिय परिचयपत्रमा उनीहरुको व्यक्तिगत परिचयका अतिरिक्त जग्गा-जमिन, बैंकिङ कारोबार लगायतका विवरणहरु समावेश गरिने बताईएको छ।

यस्तो परिचयपत्र जारी गरेपछि हाल प्रयोगमा रहेका नागरिकता मतदाता परिचयपत्र सामाजिक सुरक्षा कार्डको आवश्यकता नपर्ने बताईएको छ।

हाल विद्यमान रहेको विभिन्न कामका लागि विभिन्न कार्डहरु बोक्नुपर्ने प्रणालीको अन्त्य गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०६६/०६७ मा नेपाली जनतालाई बहुउपयोगी ‘स्मार्ट कार्ड’ बनाउने नीति लिएको थियो।

‘स्मार्ट कार्ड’

त्यसका लागि २०६७ सालको साउनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी काम शुरु गरिएको थियो।

पहिलो पटक आह्वान गरिएको बोलपत्रको प्रक्रियाप्रति राष्ट्रिय परिचयपत्र बनाउन आर्थिक सहयोग गर्ने एसियाली विकास बैंकले असन्तुष्टि जनाएपछि रद्द गरिएको थियो।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर कृष्ण घिमिरेले अहिले बोलपत्र आह्वानको प्रक्रिया पुनः थालिएको बताए।

“पहिलेको टेण्डर रद्द भएपछि नयाँ टेण्डरमा जानका लागि प्राविधिक कामहरु गरिरहेका छौं।”

एउटै परिचयपत्रबाट विविध सेवा दिने उद्देश्यका साथ बनाउन लागिएको उक्त परिचयपत्रमा के के समावेश गर्ने भन्ने बारेमा विभिन्न चरणका अध्ययन प्रतिवेदनहरु आएका थिए।

सुझाव अनुसार त्यसलाई व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा प्रयोग गर्नुका अतिरिक्त, मतदाता परिचयपत्र, जग्गा जमिन स्वामित्वको अभिलेख, बैंकिङ कारोवारको जानकारी जस्ता अभिलेखका रूपमा प्रयोग गर्न सकिने प्रस्ताव गरिएको थियो।

सोही परिचयपत्रलाई सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा, योजना निर्माण गर्न र कार्यान्वयन सघाउने रुपमा प्रयोग गर्न सकिने गरी बनाउने सुझाव दिए अनुरुप नै तयारी भईरहेको बताईएको छ।

यद्यपि यसको अन्तिम निर्णय भने सरकारले नै गर्ने निर्देशक घिमिरेले बताए।

‘बहुउपयोगी’

उनले भने, “बहुउपयोगी कार्ड बनाउने कुरा भएको छ तर अन्तिम निर्णय सरकारले पछि गर्नेछ।“

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले तयार गरी हाल नागरिकता वितरण गरे जस्तै गरी जिल्ला प्रसाशन कार्यालयमार्फत नै वितरण गरिने यो परिचयपत्रमा राखिने विद्युतीय चिप्समा परिचयपत्रवाहकको व्यक्तिगत विवरणहरु समावेेश गरिने बताइएको छ।

कतिपयले भने परिचयपत्रमा राखिने विद्युतीय चिप्समा राखिएका विवरणहरुको गोपनीयताबारे आशंका गरेका छन्।

केन्द्रले भने विभिन्न निकायले कानूनले तोकिए बमोजिम मात्र प्रयोग गर्ने गरी गोपनीयता सुनिश्चित गरिने जनाएको छ।