कोबानेमा कुर्दलाई सघाउन लडाकुहरु पुग्दै

  • 29 अक्टोबर 2014
तस्वीर कपीराइट EPA
Image caption कोबानेमा लडिरहेका कुर्द लडाकूहरुलाई टर्कीले आतंककारी ठान्छ

कोबानेमा रहेका इस्लामिक स्टेट विद्रोहीहरुको हमलाविरुद्ध लड्नका लागि इराकबाट कुर्द पेशमर्गा लडाकूहरु त्यहाँ पुग्न लागेका हुन्।

हातहतियारले लैस करीब डेढ सय पेशमर्गा लडाकूहरु टर्कीको भूभाग हुँदै सिरिया पस्दैछन्।

सिरियाली सरकारविरुद्ध युद्धरत फ्रि सिरियन आर्मीले पनि कोबानेमा थप फौज पठाएको छ, तर कति संख्यामा भन्ने विवाद छ।

अमेरिकी नेतृत्वमा भइरहेका हवाई हमलाले इस्लामिक स्टेट विद्रोहीहरुलाई कोबानेबाट भगाउन सकेको छैन।

प्रभाव

इराकबाट कुर्द पेशमर्गा लडाकूहरु तथा फ्रि सिरियन आर्मीका अरब विद्रोहीहरुको कोबाने आगमनले इस्लामिक स्टेट विरुद्ध अमेरिकी नेतृत्वको गठबन्धन कोबानेलाई रक्षा गर्ने विषयमा निकै गम्भीर रहेको देखाउँछ।

सामान्यतया उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य अनि अमेरिकाको निकट रहेको टर्कीले सिरियाली वा अन्य कुर्द लडाकूलाई उसको भूभाग हुँदै कोबानेको रक्षार्थ लडिरहेका कुर्दलाई साथ दिन जान दिंदैन।

तिनलाई उसले टर्कीको पीकेके कुर्द आन्दोलनकै टुक्राटाक्री ठान्छ।

तर पछिल्लो समय कोबानेको पराजय टार्न कुर्द लडाकूहरुलाई थप सहयोग लैजान दिन अंकारामाथि ठूलो दबाब परेको छ।

इराकी कुर्द केडिपी तथा फ्रि सिरियन आर्मीसंग भने टर्कीको निकट सम्बन्ध छ।

तर अहिले कोबाने पठाइएका थप फौजहरुले त्यहाँको लडाईंमा कत्तिको प्रभाव पार्छन् भन्ने थाहा पाउन केही समय लाग्न सक्छ।

उनीहरुको संख्याभन्दा पनि उनीहरुले लाने हातहतियारको बढी प्रभाव पर्न सक्छ।