'निलोफर आँधीको प्रभाव नेपालमा धेरै नपर्ने'

  • 30 अक्टोबर 2014
नक्सा
Image caption नेपालमा हुदहुद आँधीका कारण हिमपात हुँदा ४० जनाभन्दा बढी मानिसले ज्यान गुमाएका थिए

अरब सागरबाट शनिबारसम्म भारत र पाकिस्तानको उत्तरी तटीय क्षेत्रहरुमा पुग्ने अनुमान गरिएको निलोफर नामक सामुद्रिक आँधीले नेपालमा धेरै प्रभाव नपार्ने मौसमविद्हरुले बताएका छन्।

तर खासगरी नेपालको पश्चिम क्षेत्रका उच्च हिमाली भेगमा आँधीको प्रभावले हिमपात हुनसक्ने भएकाले त्यहाँ पदयात्रा गर्ने पर्यटकहरुलाई सावधान हुन मौसम विभागले सचेत गराएको छ।

यसअघि बंगालको खाडी हुँदै भारत प्रवेश गरेको हुदहुद नामक समुद्री आँधीकै प्रभावका कारण नेपालका उच्च हिमाली क्षेत्रमा करीब ४० जनाको ज्यान जानेगरी दुई साताअगाडि विनाशकारी हिमपात र हिमपहिरो आएको थियो।

निलोफर आँधीको असरको मात्राबारे स्पष्ट अनुमान भने शनिबारपछि मात्रै थाहा पाइने मौसमविद्हरुले बताएका छन्।

कमजोर

त्यतिञ्जेल उक्त आँधी भारतको गुजरातमा आइपुग्ने बताइन्छ।

तर यसको प्रभाव हुदहुद जत्तिको चाहीं नपर्ने मौसमविद् राजु प्रधानाङ्गले बताए।

उनले भने, “शक्तिको दृष्टिकोणले यो हुदहुदभन्दा कमजोरनै देखिन्छ। यसबाट हुदहुदले पुर्याएको जति क्षति नहुने हामीले अनुमान गरेका छौं। तर पश्चिमी क्षेत्रमा अलि सतर्कतानै अपनाउनुपर्ने देखिन्छ।”

हिमपातको साथै पश्चिमी क्षेत्रको तल्लो भेगमा थोरै वर्षासमेत हुनसक्ने अनुमान जल तथा मौसम विज्ञान महाशाखाले गरेको छ।

असर

त्यसले बाली भित्र्याउने क्रममा रहेका कृषकहरुलाई केही अप्ठ्यारो गर्ने भए पनि पानी लामो समय नपर्ने प्रधानाङ्गले बताए।

उनले थपे, “धान भित्र्याउने बेला यसका कारण पानी पर्यो भने असर पर्छ। तर यसको असर धेरै दिनसम्म रहँदैन। एक दुई दिनमात्रै हो।”

पश्चिम भारतको गुजरातमा आउँदो शनिबार प्रवेश गरेपछि निलोफर आँधीले तय गर्ने दिशाअनुसार नेपालमा त्यसको प्रभावलाई थप स्पष्ट रुपमा अनुमान गर्न सकिने मौसमविद्हरुको भनाई छ।