बुर्कीना फासोका राष्ट्रपतिको राजिनामा

  • 31 अक्टोबर 2014
बुर्कीना फासो तस्वीर कपीराइट AFP

पश्चिम अफ्रीकी मुलुक बुर्कीना फासोमा राष्ट्रपति ब्लेज कम्पाओरेको राजिनामा पछि देशको शासनभार आफूले लिएको त्यहांका सेना प्रमुख जेनरल ओनोरे त्राओरेले बताएका छन्।

त्यसअघि, विपक्षी प्रदर्शनकारीहरुको ठूलो समूहले राजधानी वागाडुगुको केन्द्रमा जम्मा भएर सेनालाई हस्तक्षेप गर्न आह्वान गरेको थियो।

बुर्कीना फासोमा राष्ट्रपतिको राजिनामा माग्दै सडकमा ओर्लीएका विरोध प्रदर्शनकारीहरु आफ्नो माग पुरा गराउन सफल भएका छन्।

राष्ट्रपतिको तर्फबाट स्थानीय संचार माध्यममा प्रसारण गरिएको एउटा बक्तव्यमा उनले राजिनामा दिएको घोषणा गरिएको थियो।

त्यसमा अब राष्ट्रपतिको पद खाली भएको र तीन महिनाभित्र निर्वाचन हुने जनाइएको छ।

ब्लेज कम्पाओरेको पछिल्लो अवस्थिती अज्ञात रहेको छ।

जत्था

तर रएटर्स समाचार एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सेनाको हातहतियार सज्जीत एउटा ठूलो जत्था दक्षिणी शहर पो तर्फ लागेको जनाएको छ।

तस्वीर कपीराइट Getty

र त्यसमा राजीनामा दिएका ब्लेज कम्पाओरे हुन सक्ने ठानिएको छ।

राजिनामा दिएका राष्ट्रपति ब्लेज कम्पाओरेले २७ बर्ष अघि शासन आफ्नो हातमा लिएका थिए।

अब देशको बागडोर कस्को हातमा जाला भन्ने अन्योलका माझ सेना प्रमुखले अब त्यो जीम्मा आफ्नो भएको घोषणा गरेका छन्।

त्यस्तो घोषणा हुनु केहि समय अघि नै एकजना सैनिक अधिकारीले राजधानी वागाडुगुमा विपक्षी विरोध प्रदर्शनकारीहरुलाई अब राष्ट्रपति कम्पाओरे सत्ता नरहेको बताएका थिए।

त्यहां रहेका एकजना सम्बाददाता भन्छन्- यो समाचार सार्वजनिक भएपछि मानिसहरुको भिडले खुशीयाली व्यक्त गरेका थिए भने सडकमा मोटरहरु हर्न बजाउंदै गुडेका थिए।

दबाब

तस्वीर कपीराइट Reuters

विहीबार संसद भवनमा प्रवेश गरी आगजनी गरेका विरोध प्रदर्शनकारीहरु शुक्रबार पुन: सडकमा ठूलो संख्यामा जम्मा हुन थाले देखि नै राष्ट्रपतिमाथि पद त्याग्न दबाब बढेको थियो।

राजीनामा दिएका राष्ट्रपतिले गए रात आफ्नो राष्ट्रपतिय पदावधि लम्बाउन प्रस्तुत गर्न लागेको विधेयक फिर्ता लिइएको घोषणा गरेका थिए।

त्यसपछि उनले एउटा अन्तरिम सरकार गठन गर्नका लागि आफू विपक्षीहरुसंग वार्ता गर्न तयार रहेको पनि बताउंदै पद त्याग्न अस्वीकार गरेका थिए।

जुन प्रस्तावलाई विपक्षी नेताहरुले अस्वीकार गरिदिएका थिए।