सुर्तीजन्य पदार्थ चेतावनीयुक्त चित्रले ढाकिने

  • 31 अक्टोबर 2014
तस्वीर कपीराइट PA
Image caption चेतावनीयुक्त चित्रका कारण सुर्तीजन्य पदार्थको प्रयोगमा कमि आएको अधिकारीहरुको भनाई छ

सरकारले सुर्तीजन्य पदार्थका खोलहरु लगभग पूरै ढाकिने गरी घातक चित्रहरु राख्नु पर्ने नियम लागु गर्ने निर्णय गरेको छ।

हाल सुर्तीजन्य पदार्थको खोलको ७५ प्रतिशत भाग तीनको सेवनबाट हुने रोग दर्शाउने डरलाग्दा चित्रले ढाक्नु पर्ने नियम रहेकोमा अब ९० प्रतिशत भाग ढाक्नु पर्ने छ।

सरकारले २०६८ सालमा ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनले गरेको व्यवस्था अनुसार चुरोट तथा सुर्तीका खोलहरुमा राखिएका घातक चित्रहरुका कारण तिनको प्रयोगमा कमि आएको भन्दै निर्देशिका संशोधन गरि नयाँ व्यवस्था लागु गर्न लागिएको अधिकारीहरुको भनाई छ।

कारण

उक्त निर्देशिकामा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्शल प्याक सबैका ९० प्रतिशत भाग डरलाग्दा सन्देश सहितका चित्रहरुले ढाक्नु पर्ने उल्लेख गरिएको बताईएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक बद्रीबहादुर खडकाले भने, “जति ठूलो चित्र बनायो निरक्षर जनताहरुले त्यसको सन्देश त्यति नै सजिलो गरी बुझ्न सक्ने भएकाले नयाँ व्यवस्था लागु गर्न लागिएको हो।”

हाल प्रयोगमा रहेका चित्रहरुको संख्या पनि बढाईएको छ।

ऐन बमोजिम उत्पादक कम्पनीहरुलाई त्यस्तो नियम लागु गर्न छ महिनाको समय दिइएको छ।

नयाँ पहिचान

खड्काले भने, “उत्पादकहरुले २०७१ साल जेष्ठ १ गते देखी ९० प्रतिशत भागहरुमा चेतावनीयुक्त सन्देश सहितका सुर्तीजन्य पदार्थहरु बजारमा ल्याउनु पर्नेछ।”

यो नियम लागु भएमा नेपाल सुर्तीजन्य पदार्थको खोलहरुमा सबैभन्दा बढी मात्रामा चेतावनी सन्देश राख्ने देश बन्ने छ।

तर विगतको सरकारी अनुगमन हेर्दा निर्णय कार्यान्वयन हुनेमा आशंका गर्नेहरु प्रसस्तै छन्।