बोकोहरामद्वारा संघर्षविराम अस्वीकार

  • 1 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption बोको हरामले अपहरण गरेका स्कुले छात्राहरुको रिहाइको माग हुँदै आएको छ

इश्लामवादी लडाकु समुह बोको हरामले नाइजेरिया सरकारसँग संघर्षविरामको सहमति गरेको अस्वीकार गरेको छ।

समुहका नेता अबुबकर शेकाउले नयाँ भिडियो जारी गर्दै सरकारसँग सहमति नगरेको जनाएका हुन्।

शेकाउले गत एप्रील महिनामा अपहरण गरिएका दुइ सय भन्दा बढि स्कुले विद्यार्थी किशोरीहरु मुशलमान बनेको र उनीहरुको विहे गरिएको दावी गरेका छन्।

लागोसबाट बीबीसी संवाददाता टोमी ओलाडिपो भन्छन्, पछिल्लो भिडियो नाइजेरियाको सरकारका लागि ठूलो लाजको विषय भएको छ।

झुठो दावी

नाइजेरियाको सरकारले विद्रोहीहरुसँग संघर्ष विराम भएको दोहोर्याउँदै आएको थियो।

तर बोको हरामका नेता अबुबकर शेकाउ, जसलाई सेनाले मारिसकेको दावी गर्छ, ले भनेका छन् सरकारसँग वार्ता भइरहेको भनिएको सबै दावी झुठा हुन्।

नाइजेरियाका आम सर्वसाधारणले संघर्षविरामको घोषणालाई शंकासहित स्वागत गरेका थिए किनभने यस अघिका त्यस्तै घोषणाले शान्ति ल्याएका थिएनन्।

शेकाउले चिबोक शहरबाट अपहरित दुइ सय किशोरीहरुको रिहाइ पनि अस्वीकार गरेका छन्।

तस्वीर कपीराइट Luis Ruibal
Image caption बोको हराम नेताले जारी गरेको भिडियोमा स्कूले छात्राहरुको मुक्ति नहुने बताइएको छ

बोको हरामले ति केटीहरुलाई ६ महिनासम्म राखेपछि सबै इश्लामवादी बनेको र सबैको विहे गरिएको शेकाउले बताएका छन्।

शेकाउले उत्तरपूर्वी अडामावा राज्यबाट गत जुलाइमा अपहरण गरिएका जर्मन नागरिक आफुहरुको नियन्त्रणमा रहेको पनि घोषणा गरेका छन्।

नाइजेरियाको सरकारले छिमेकी मुलुक चाडमा विद्रोहीहरुसँग वार्ता भइरहेको जनाएको थियो।

आक्रोश

गत एप्रीलमा २ सय १९ जना स्कुले छात्राहरु अपहरण गरेपछि संसारभरबाट बोको हरामप्रति आक्रोश प्रकट भएको थियो।

उनीहरुलाई अहिलेसम्म मुक्त गराउन नसकेकोमा नाइजेरियाको सरकारको आलोचना हुँदै आएको छ।

नाइजेरियाका सेना प्रमुख एलेक्स बादेले संघर्षविराम भएको घोषणा गरेपछि उनीहरुको मुक्तिको आशा बढेको थियो।

'उनीहरुले छात्राहरु मुक्त गर्नेबारे आश्वस्त पारेका छन् म सचेत रुपमा आशावादी छु'; बादे भन्छन्।

तर बोको हराम नेता भन्छन्, समुहले विवाह गरिदिएपछि केटीहरु 'आफ्नो वैवाहिक घरमा' पुगिसकेका छन् ।

गत हप्ता हु्यमन राइट्स वाचले भनेको थियो- बोको हरामले पाँचसय भन्दा बढि महिला र किशोरीहरुलाई बन्धक बनाएको छ र उक्त समुहका शिविरमा उनीहरुलाई जबर्जस्ती विवाह गराउने चलन छ।