दुर्घटनाको कारण 'खोजिने'

  • 2 नोभेम्बर 2014
Image caption बसको क्षमता भन्दा बढी यात्रु चढाउँदा धेरै दुर्घटना हुने गरेको बताइन्छ

दशैँयता मात्र भएका सडक दुर्घटनामा दुइ सय भन्दा बढी मानिसको ज्यान गएपछि व्यवस्थापिका संसदको विकास समिति र नेपाल प्रहरीले सक्रियता बढाएका छन्।

व्यवस्थापिका संसदको विकास समितिले सरोकारवाला निकायहरुसँग आइतबार छलफल गर्ने भएको छ।

प्रहरीले गुनासो सुन्न विशेष व्यवस्था मिलाएको जनाएको छ।

दशैँ तिहार अघि नै दुर्घटना कम गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको समितिले त्यसको कार्यान्वयन हुन नसक्नुको कारण खोज्ने गरी छलफल गर्न लागेको समितिका सभापति रवीन्द्र अधिकारी बताउँछन्।

कारण खोजी

उनी भन्छन्, “पटक पटक घटना दोहोरिएको छ, त्यसले गर्दा कमजोरी कहाँ छ, लापरवाही कहाँ छ भनेर खोज्नु पर्ने देखिएको छ।"

छलफलमा उप-प्रधान तथा गृह मन्त्री, भौतिक पूर्वाधार तथा यातयात मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रहरी प्रमुख र समितिका सदस्यहरु सहभागी हुने बताइएको छ।

नेपाल प्रहरीले पनि पछिल्ला अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको निष्कर्ष निकाल्दै तीव्र गतिमा गुड्ने गाडीको नियन्त्रणका लागि यात्रुहरुले प्रहरीलाई टेलिफोनमा खबर गर्नसक्ने व्यवस्था मिलाएको छ।

खबर

प्रहरी प्रवक्ता माधवप्रसाद जोशीका अनुसार प्रहरी परिचालन कक्षको ४४१२७८०, ४४११५४९, टोल फ्रि (पैसा नलाग्ने) नम्बर १६६००१४१५१६ प्रहरी कन्ट्रोलको रुमको १०० र मोबाइल नम्बर ९८४९०९११३९ मा यात्रुहरुले आफुहरु चढेको सवारीसाधन तीव्र गतिमा भएको खबर सक्ने छन्।

यदि कुनै सवारी साधन तीव्र गतिमा गुडिरहेको फोनबाट सूचना आएमा सम्बन्धित सवारी साधनलाई उसको गन्तव्यमा पर्ने प्रहरी जाँचचौकीमै कारबाही र सचेत गराउने व्यवस्था गरिएको उनले बताए।

यात्रुबाट नै सूचना आउने व्यवस्था भएपछि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरु निरुत्साहित हुने र दुर्घटनामा कमी आउने अपेक्षा प्रहरीले राखेको छ।