जैबिक इन्धन प्रयोग घटाउन सुझाव

  • 2 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption जलवायु परिवर्तनबारे चिन्ता बढी रहे पनि पछिल्ला केही वर्षमा यसको असर झन् कहालीलाग्दो हुँदै गएको बताइन्छ

विज्ञहरु सम्मिलित एउटा राष्ट्रसंघीय प्यानलले जैविक इन्धनहरुको अनियन्त्रित प्रयोग छिटो अन्त्य नभए विश्वले कहालीलाग्दो जलवायु परिवर्तन भोग्नुपर्ने चेतावनी दिएको छ।

उक्त प्यानलले आइतबार सार्वजनिक गरेको ४० पृष्ठ लामो आफ्नो प्रतिवेदनमा पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास जस्ता बढी कार्बन हुने जैविक इन्धनहरुको प्रयोग सन् २१०० सम्ममा पूर्ण रुपमा त्याग्नुपर्ने पनि जनाएको छ।

जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसिले सन् २०५० सम्ममा विश्वको अधिकांश विद्युत, कार्बनको मात्रा न्यून भएका स्रोतहरुबाट उत्पादन गर्न आग्रह गरेको छ।

डेनमार्कको कोपेनहेगनमा आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा आइपिसिसिले कार्बनसम्बन्धमा कडा कदमहरु नचालिए विश्वले गम्भीर र अपरिवर्तनीय प्रभाव झेल्नुपर्ने जनाएको छ।

सुझाव

कार्बनको मात्रा घटाउन हरीत विद्युतमा केन्द्रित हुनुपर्ने राय विज्ञहरुले दिएका छन्।

आइपिसिसिका प्रमुख डा राजेन्द्र पचौरीले भने, "निश्चयनै हामीलाई यातायातको संरचनामा एउटा परिवर्तन आवश्यक छ। यदि त्यसो गर्न सकियो भने जैविक इन्धन र उर्जाको मागमा उल्लेखनीय कमी आउनेछ।"

प्रतिवेदनले नवीकरणीय उर्जाको मात्रा सन् २०५० सम्ममा समग्र उर्जा क्षेत्रको ८० प्रतिशतसम्म पुर्याउनुपर्ने सुझाव दिएको छ।

हाल त्यो मात्रा ३० प्रतिशत छ।

आइपिसिसि प्रमुख पचौरीले यदि विश्व नेताहरुले प्रतिवद्धता जनाएअनुसार विश्व तापमान दुई डिग्री सेल्सियसमा सीमित राख्ने हो भने कार्बन प्रयोगको मात्रा तीन वा चार गुणाले घटाउनुपर्ने बताए।