‘जहाज भित्रिएसँगै उडान गन्तव्य थपिने’

  • 4 नोभेम्बर 2014
तस्वीर कपीराइट nepal airlines
Image caption एउटामात्र ठूलो जहाज रहेको निगमले निजी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न सकेको छैन्

आइतवार अर्को जहाज थपिएपछि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले विकट क्षेत्रमा आफ्ना उडान गन्तव्यहरु बढाउने तयारी गरेको अधिकारीहरुले बताएका छन्।

चीनबाट ल्याइएको १८ सीट क्षमताको उक्त जहाजको नेपाली नाम कोइली राखिएको छ।

चीन सरकारसँगको सम्झौताअनुसार दुईवटा चिनियाँ अनुदानमा र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने योजना बमोजिम आगामी दुई महिनामा थप चारवटा जहाज आउने बताइएको छ।

तीमध्ये तीनवटा १८ सीट क्षमताका विकट क्षेत्रमा उडान भर्न सक्ने साना जहाज हुनेछन्।

कुनै बेला देशका विकट जिल्लाका लागि आवागमनको एकमात्र साधनको रुपमा प्रयोग हुने गरेका नेपाल वायुसेवा निगमका जहाजहरुको संख्या दुर्घटना र प्राविधिक लगायतका कारणले घट्दै गएर केही महिना पहिले उडान नै बन्द भएका थिए।

नियमित

ती क्षेत्रमा उडान भर्ने गरेका निजी विमान कम्पनीहरुको सेवा अनियमित र महंगो भएको गुनासो बढ्दो थियो।

त्यसपछि बिग्रिएका दुईवटा जहाजको मर्मत गरी पुनः उडान सुरु गरेको निगमका लागि चीनबाट थप नयाँ जहाज आएपछि विकट क्षेत्रका धेरैजसो विमानस्थलहरुमा उडान भर्न सकिने भएको निगमका प्रवक्ता हरिहर शर्माले बताए।

उनले भने, “अहिले जुन ठाँउमा हामीले उडानहरु गर्न सकेका छैनौं, ती ठाँउहरुमा अनुमति पाएपछि ती जहाजहरुले उडान भर्नेछन्।”

केही दिनमा पहाडी जिल्लाहरुमा परीक्षण उडान गरेपछि नयाँ जहाजले आफ्नो नियमित उडान सुरु गर्ने उनले बताए।

यसअघि चीनबाट ल्याईएको ५८ सिट क्षमताको एमए-६० जहाजले सुगम ठाँउहरुमा उडान भरिरहेको छ।

सहुलियत

शर्माले भने “तीनवटा जहाज थपिए भने पोखरा र नेपालगञ्जमै जहाजहरु राखेर सक्दो सेवा पुर्याउनेछौं।”

सडक यातायातको अभावमा देशका केही हिमाली जिल्लाका मानिसहरु हवाई उडानमै भर पर्न बाध्य छन्।

सडक यातायातसँग जोडिएका कतिपय अन्य विकट जिल्लाहरुमा पनि सडकको गुणस्तरका कारण त्यहाँका मानिसहरु हवाई उडानमै भर पर्नुपर्ने अवस्था छ।

ती क्षेत्रमा हाल उडान भर्ने कतिपय निजी विमान कम्पनीहरुले महंगो भाडा लिने र सहुलियत दरमा नियमित उडान नगर्ने गरेको यात्रुहरुको गुनासो सुनिन्छ।