गतिरोधबारे राजनीतिक समितिमा छलफल गरिने

  • 6 नोभेम्बर 2014
Image caption एक महिना अगाडी बनेको उक्त समितिमा पहिलो दुइ महिनाका लागि एमाओवादी अध्यक्ष प्रचण्ड संयोजक रहनेछन्।

प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेको राजनीतिक समितिमार्फत संविधानका विवादित विषयमा सहमतिको थप पहल गर्ने निष्कर्ष तीन दलका शीर्ष नेताहरुको निकालेका छन्।

बिहीबार बिहान र साँझ गरि दुई पटक बसेको बैठकले संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोध हल गर्नेबारे कुनै निर्णय गर्न सकेन।

नेपाली काँग्रेस र नेकपा एमालेले संविधान लेखनका बारेमा प्रस्तुत गरेको साझा धारणाको एकीकृत माओवादी र तराई केन्द्रित दलहरुले विरोध गरेपछि संवाद समितिमा गतिरोध देखा परेको छ।

केहीदिन सार्वजनीक कार्यक्रमहरुमा एक अर्का प्रति आरोप प्रत्यारोप लगाउनमा खर्च गरेका दलहरुले बिहीबार बिहान फेरी एकै ठाँउमा बसेर पुन संवादलाई शुरु गरेका थिए।

छलफल

ठूला ३ दलका बीचमा २ चरणमा भएको छलफलमा सहमति जुट्न नसके पनि शुक्रबार राजनीतिक समितिमार्फत पुन छलफललाई अगाडि बढाउने सहमति भएको एमाओबादी उपाध्यक्ष नारायण काजी श्रेष्टले बताए।

उनले भने, "शुक्रबार राजनीतिक समितिको बैठक ४ बजेको लागि राखिएको छ, राजनीतिक समझदारी कसरी विकास गर्ने भन्ने विषयमा पनि छलफल होला।"

बैठकमा संवाद समितिको बैठकलाई पुन अगाडि बढाउने र समितिले गरेका कामहरुलाई संविधान सभामा कसरी प्रवेश गराउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताईएको छ।

उपाध्यक्ष श्रेष्ठले भने, "अहिले संवाद समितिमा देखिएको गतिरोधले संविधान निर्माणको प्रकृयामा पनि अलमल भइरहेको छ त्यसलाई कसरी हल गर्ने भन्ने विषयमै छलफल केन्द्रित भएको हो।"

मोर्चाबन्दी

बिहान बसेको बैठकमा दलहरुका बिचमा एक अर्का प्रति उब्जिएका आसंकाहरुलाई निवारण गर्ने काम पनि भएको र त्यसले छलफलका लागी अगाडिको बाटो खोलेको एमाले उपाध्यक्ष भिम रावलले बताए।

उनले भने, "प्रचण्डले तपाईहरुको धारणाले सहमति नखोज्ने हो कि भन्ने विषयमा आशंका लाग्यो भन्नुभयो, तर हामीले मोर्चाबन्दी गरेका छैनौं र सहमति खोज्ने भन्ने कुरामै लागेका छौ भन्ने स्पष्ट पार्यौं।"

दलहरुले छुट्टा छुट्टै धारणाहरु राखेपछि १६ गते नै आफ्नो सहमति वा विमतिको प्रतिवेदन संविधान सभामा पेश गर्ने जिम्मा पाएको सम्वाद समितिमा गतिरोध छाएको छ।