मिलेर काम गर्ने अमेरिकी प्रतिबद्धता

  • 6 नोभेम्बर 2014
तस्वीर कपीराइट
Image caption सिनेटमा रिपब्लिकन पार्टीका नयाँ नेता मिच मककनलले राष्ट्रपति ओबामासँग मिलेर काम गर्ने बताएका छन्

अमेरिकी सिनेटका नयाँ रिपब्लिकन नेता मिच मककनल र राष्ट्रपति बराक ओबामा दुवैले राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिबद्धता गरेका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकनहरुले ऐतिहासिक जीत हासिल गरेर दुवै सदनमा नियन्त्रण जमाएका छन् ।

मककनलले अप्रभावकारी रहँदै आएको सिनेटलाई काम गर्न सक्ने र विधेयकहरु पारित गर्ने स्थितिमा पुर्याउने बताएका छन्।

राष्ट्रपति ओबामाले आगामी दुइ वर्ष जतिसक्दो उत्पादनमुखी बनाउन उनी नयाँ कंग्रेससँग काम गर्न उत्साहित रहेको बताएका छन्।

सन्देश

ओबामा भन्छन्, "अमेरिकी जनताले आफुहरु जस्तै नेताहरु पनि कडा मेहनत गरुन भन्ने अपेक्षा राखेको सन्देश पठाएका छन्। दुवै पार्टीका हामी सबैले त्यो सन्देशको सम्मान गर्नुपर्छ।"

शुक्रबार उनले ह्वाइट हाउसमा डेमोक्रेट र रिपब्लिकन नेताहरुसँग संयुक्त बैठक गर्नेछन्।

हामीले सँगसँगै काम गर्ने उपायहरु पक्कै पाउनेछौं अब काम गर्ने बेला हो, ओबामा भन्छन्।

बुधबार मककनलले सिनेटलाई थप उत्पादनमुखी बनाउने बताएका थिए।

कामको बेला

उनी भन्छन्, "गत केहि वर्ष सिनेटले वास्तवमा केहि गरेन। हामी काममा फर्कँदैछौं र कानुनहरु पारित गर्नेछौं।"

उनले ओबामासँग सहमत हुन सकिने विषयहरु: जस्तो कि व्यापार संझौता र कर सुधारका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बीबीसी संवाददाताको विश्लेषण छ, मिच मककनललाई थाहा छ कि दुइ वर्षपछि जब संसद मात्र होइन राष्ट्रपति बन्ने कुरा आउने बेला अमेरिकी जनता उनीमाथि खनिनेछन्। त्यसैले अरुलाई दोष लगाएर मात्र उम्कन पाउने स्थिति छैन।

उनको राष्ट्रपतिकालको पछिल्ला दुइ वर्षमा ओबामाका मुद्दाहरुलाई पूर्ण रुपमा रोक्न नसकेपनि जटिल बनाउन सक्ने शक्ति रिपब्लिकनहरुले प्राप्त गरेका छन्।

सिनेटमा नियन्त्रणले रिपब्लिकनहरुले ओबामालाई नयाँ प्रान्तीय न्यायाधीशरु मनोनयन गर्न, मन्त्रिपरिषदका सदस्य र बरिष्ठ सरकारी अधिकारी चयन गर्न पनि ओबामालाई अंकुश लगाउन सक्ने बनाएको छ।