'बेरोजगारी घटाउन नसके पुनः उठ्दिन'

  • 7 नोभेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption बिहे बिनाको सम्बन्धका कारण फ्रान्स्वाँ ओलान्दको व्यक्तिगत जीवन पनि विवादमा पर्ने गरेको छ

आफ्नो महत्वपूर्ण चुनावी वाचा पुरा गर्न नसकेपछि लोकप्रियता गुमाउँदै गएको भनिएका फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले मुलुकमा व्याप्त बेरोजगारी घटाउन नसके दोस्रो पटक नउठ्ने घोषणा गरेका छन्।

सर्वसाधारण नागरिकहरुको एउटा प्यानलबीच उनले त्यस्तो घोषणा गरेका हुन्।

फ्रान्सको प्रमुख टेलिभिजन च्यानलको एउटा कार्यक्रममा ओलान्दले पत्रकार र आमनागरिकको प्रत्यक्ष प्रश्नहरु लिइरहेका थिए।

कार्यक्रममा राष्ट्रपति ओलान्द केही आत्तिएको र आफूलाई चुनौती दिनेहरुलाई रोक्न खोजिरहेका देखिन्थे।

बेरोजगारी

ओलान्दलाई मतदाताहरुले उनको व्यक्तिगत जीवन, बढ्दो बेरोजगारीको समस्या र फ्रान्समा व्यवसाय गर्ने वातावरण लगायतका विषयमा प्रश्न गरेका थिए।

रोजगारी बढाउने वाचासहित विजयी भएका ओलान्दले आफूले गल्तीहरु गरेको र सन् २०१२ मा सत्तामा आएदेखि खासै केही गर्न नसकेको स्वीकारे।

ओलान्दले प्रश्न गरे, “तपाईंहरुलाई के लाग्छ आफ्नो कार्यकालको अन्त्यसम्म मैले वेरोजगारी विरुद्धको लडाईं जितिन भने फ्रान्सका जनताको दैलोमा पुगेर फेरि जिताउनुस् भनुँला? त्यसो भन्दिन्न।”

त्यस्तो अवस्थामा फ्रान्सका जनता आफूप्रति उदासिन हुने र त्यसो गर्दा उनीहरु सही साबित हुने उनको भनाई थियो।

छवि

हालै गरिएको जनमत सर्वेक्षण अनुसार पाँच वर्षे कार्यकालको आधा समय सकिंदा ओलान्दलाई हाल १२ प्रतिशत मतदाताहरुको मात्र समर्थन रहेको छ।

टेलिभिजनका कार्यक्रममा बिरलै देखिने ओलान्दले त्यसमार्फत आफ्नो छवि जोगाउन र आर्थिक सुधारका कार्यक्रमप्रति समर्थन जुटाउन अन्तिम प्रयास गर्न खोजेको ठानिएको छ।

आर्थिक सुधारसम्बन्धी उनको कार्यक्रमले मतदाताहरुले चिताए अनुसार अझै परिणाम ल्याउन नसकेको बताइन्छ।

व्यक्तिगत काण्ड र पार्टीभित्रैबाट असहयोग झेल्दै आएका ओलान्दले भने आर्थिक सुधारसम्बन्धी आफ्नो कार्यक्रमप्रति प्रतिवद्ध रहेको बताउँदै आएका छन्।

उनले अपवादको अवस्थाबाट गुज्रिरहेको फ्रान्सलाई शान्त राख्नु राष्ट्रपतिको जिम्मेवारी भएको बताए।