'भ्रष्टाचार विरोधी सञ्जाल बनाउन सहमत'

  • 8 नोभेम्बर 2014
तस्वीर कपीराइट
Image caption भ्रष्टाचार अनुसन्धानलाई सहयोगी हुने उक्त सहमतिलाई अमेरिकाको पनि साथ रहेको बताइएको छ

एसिया प्रशान्त क्षेत्रका मुलुकहरुले भ्रष्टाचार सम्बन्धमा सूचना आदानप्रदान गर्ने सञ्जाल स्थापना गर्न सहमति जनाएका छन्।

बेइजिंगमा आगामी साता एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठक हुन लागेका बेला उक्त सहमतिको जानकारी आएको हो।

शनिबार एउटा वक्त्व्य प्रकाशित गरी एपेक सदस्य मुलुकहरुले उक्त सहमतिको घोषणा गरेका थिए।

भ्रष्टाचारमा संलग्नलाई सुरक्षित स्थल नदिने सहमतिको उद्देश्य रहेको उनीहरुले जनाएका छन्।

प्रतिवद्धता

विदेश भाग्न खोज्नेसहितका भ्रष्ट अधिकारीहरुमाथि कडा कारबाही गर्ने चिनियां राष्ट्रपति सी जिनपिंगको प्रयासका बीच पछिल्लो सहमति बनेको छ।

आगामी साता बेइजिंगमा हुने एपेक शिखर सम्मेलनले उक्त सहमति अनुमोदन गर्ने ठानिएको छ।

२१ सदस्यीय एपेकले सुपुर्दगी सन्धि र आपसी कानूनी सहायता मार्फत भ्रष्ट अधिकारीहरुलाई एकअर्काको मुलुकमा सुरक्षित आश्रय नदिन प्रतिवद्धता जनाएका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले भने, "हामीलाई यो विश्वास छ कि यो साझेदारी एउटा महत्वपूर्ण कदम हो। भ्रष्टाचारले आर्थिक सम्बन्धहरुलाई बिगार्ने मात्रै होइन सबैका लागि राज्य प्रणालीले काम गर्न सक्छ भन्ने विश्वास जनताबाट पनि खोस्दछ।"

सन् २०१४ को पहिलो नौ महिनामा मात्रै चीनमा १३ हजार सरकारी अधिकारीहरु भ्रष्टाचार र घूस प्रकरणमा दोषी पाइएका थिए।