राजनीतिक संयन्त्र छोड्ने प्रचण्डको चेतावनी

  • 8 नोभेम्बर 2014
तस्वीर कपीराइट Surendra Phuyal
Image caption एमाओवादी अध्यक्ष प्रचण्ड अघिल्लो महिना राजनीतिक संयन्त्रको संयोजक बनेका थिए

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मुख्य दलहरु सम्मिलित राजनीतिक समितिको संयोजक पद छाड्ने चेतावनी दिएका छन्।

शुक्रबार कांग्रेस र एमालेले समितिको बैठक बहिस्कार गरेपछि रुष्ट जस्तो देखिएका प्रचण्डले आन्दोलनको मोर्चा नछाड्ने बरु समिति नै छाडिदिने बताएका हुन्।

जनकपुरमा आयोजित उनी नेतृत्वको २२ दलीय मोर्चाको सभामा उक्त मोर्चामा आवद्ध अन्य दलका शीर्ष नेताहरुले पनि सत्तारुढ दलहरुप्रति निशाना गर्दै उनीहरुले अघि सारेको संघीयता सम्बन्धी संयुक्त प्रस्ताव मान्य नहुने चेतावनी दिएका थिए।

तराइको केन्द्रमा आयोजित सभामा, मोर्चामा सहभागि अधिकांश दलका शीर्ष नेताहरुको सहभागिता थियो।

चेतावनी

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक छाड्ने चेतावनी दिंदै सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली काँग्रेसले जनतालाइ धोका दिन लागेको आरोप लगाए।

मध्य तराइको केन्द्र मानिने जनकपुरमा शनिबार आयोजित २२ दलिय मोर्चाको सभामा तराइ केन्द्रित दलका नेताहरुले काँग्रेस र नेकपा एमालेको प्रस्ताव नमान्ने जनाए ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने, "मधेश रोज्ने कि तीन दलीय गठबन्धन रोज्ने? कांग्रेस, एमालेले २२ दलीय मोर्चा रोज्ने कि राजनीतिक संयन्त्र रोज्ने हो भनेर सोधे, मैले भनेँ म तिमीहरुसँगको सम्बन्ध छोड्दिन्छु।"

प्रचण्डले सत्तारुढ दुई दलले साझा प्रस्ताव ल्याएका बेला गल्ती गरेको भन्दै त्यसलाई सच्याउन समेत सचेत गराए।

उनले भने, "उनीहरुले राजनीतिक र संवैधानिक गल्ती सच्याएनन् भने राज्य संचालनको अधिकार सिधै जनतामा आउँछ।"

धम्की

तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराइबासीको हितमा नहुने संघियता स्विकार्य नहुने धम्की दिए ।

ठाकुरले भने, "उनीहरु पुरानै शैलीको संविधान बनाउन चाहिरहेका छन्, हामी त्यसलाई बन्नै दिँदैनौं।"

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र पहिचान बिनाको संबिधान नमान्ने चेतावनी दिए ।

यादवले भने, "बिना संघीयता र पहिचानको संविधान बलपूर्वक बनाए भने त्यसलाई मधेसी जनताले स्वीकार गर्दैनन्।"

सत्तारुढ दलहरुले प्रस्तुत गरेको सात प्रदेशको प्रस्तावलाइ सबै दलका नेताहरुले आलोचना गरेका थिए।