विश्व शीतयुद्धको संघारमा: गोर्वाचोफ

  • 9 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption नेता गोर्बाचोफले पश्चिमा देश विजयोन्मादमा डुबेको टिप्पणी गरेका छन्

विघटित सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्बाचोफले विश्व नयाँ शीत युद्धको संघारमा पुगेको टिप्पणी गरेका छन्।

जर्मनी एकीकरणका पिताको रुपमा समेत चित्रित गरिने गोर्बाचोफ त्यहाँ बर्लिन पर्खाल ढलेको पच्चीसौं वार्षिकोत्सव मनाउने क्रममा बोल्दै थिए।

उनले रुस र पश्चिमा देशबीच बढ्दो तनावसँगै पछिल्ला मध्य पूर्वी र युरोपेली द्वन्द्वहरुलाई चेतावनीको रुपमा प्रस्तुत गरे।

निर्विकल्प

पश्चिमा देश विजयोन्मादमा डुबेको टिप्पणी गर्दै उनले भने, “रुससँग सम्वादका माध्यमबाट विश्वास पुनर्स्थापना गर्नुपर्छ।”

उनको विचारमा शान्ति सुनिश्चितताको निम्ति वार्ता सधैं खुला राख्नुको अर्को विकल्प छैन्।

उनले रुसी उद्योगपति र नेताहरु विरुद्ध पश्चिमा देशहरुले लगाएको प्रतिवन्ध हटाउन पनि नेता गोर्बाचोफले आग्रह गरे।

युक्रेनबाट क्राइमिया छुट्टिनुका साथै रुसमा उसको विलयमा रुसको भूमिका रहेको भन्दै असन्तुष्ट पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका हुन्।

बीबीसीका रब ब्रुम्बी भन्छन्, “नयाँ शीतयुद्धको उनको चेतावनीलाई धेरैले सुन्नेछन्।”

रुसी संलग्नता

कुनैबेला सोभियत संघको अंग रहेको युक्रेनलाई लिएर रुस र पश्चिमा देशहरुबीच तीव्र तनाव छ।

पश्चिमा देश सहित युक्रेनले पूर्वी युक्रेनमा जारी द्वन्द्वमा रुस संलग्न रहेको आरोप लगाउने गर्छन्। जुन आरोप रुसले भने अस्वीकार गर्दै आएको छ।

युक्रेनी सेना र रुस समर्थक पृथकतावादीहरुबीच विगत आठ महिनायता भएका संघर्षमा चार हजार मानिसको ज्यान गइसकेको छ।

पूर्वी युक्रेनस्थित डोनेत्स्क र लुहान्स्क क्षेत्र अझै पनि विद्रोहीहरुको नियन्त्रणमा छ।

सेप्टेम्बरदेखि त्यहाँ कमजोर संघर्षविराम लागु भएको छ तर विद्रोही नियन्त्रित क्षेत्रहरुमा गत सप्ताहन्तमा भएको चुनावले अब फेरी द्वन्द्व चर्किने त्रास जन्माएको छ।