नाइजेरियामा भएको बम हमलामा दर्जनौं हताहत

  • 10 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption बोको हरामले गत एप्रिलमा चिबोक नगरबाट २०० भन्दा बढी स्कुले छात्रालाई अपहरण गरेको थियो

नाइजेरियाको पोटिसकममा अवस्थित एउटा माध्यमिक विद्यालयमा भएको बम हमलामा कम्तिमा ४७ जनाको ज्यान गएको छ।

मारिनेमा धेरैजसो विद्यार्थीहरु रहेका बताइएको छ।

पोटिसकम नगरमा भएको उक्त बम हमलाको जिम्मेवारी कसैले दावी नगरेको भएता पनि उक्त नगर चरमपन्थी उग्रवादी समूह बोको हरामले विगतमा आक्रमण गर्ने गरेको स्थान मध्येमा पर्दछ।

उक्त विद्यालयमा विद्यार्थीहरुले विहानीको नियमित भेलामा सहभागी भएर प्रार्थना आरम्भ गर्न लागेका बेला बम विस्फोट भएकोले, सो हमलाको उद्देश्य बढी भन्दा बढी मानिसहरुको ज्यान लिनु रहेको देखिन्छ।

आक्रमण

प्रहरीका अनुसार, उक्त आक्रमण गराउने एकजना आत्मघाती बम हमलाकारी विद्यार्थीको छद्म भेष धारण गरेर आएका थिए।

विस्फोटपछि विद्यार्थीहरुका आफन्तजनहरु जानकारीहरुका लागि नजिकको अस्पतालमा गएका थिए।

बम हमलामा आफ्नो एकजना भाई गुमाएका एक व्यक्तिले जनतालाई सुरक्षा प्रदान गर्न सरकारले अझै काम गर्न जरुरी रहेको बताए।

उनले भने, “हमलामा मेरो १६ बर्षको विद्यार्थी भाई मारिएको छ, हामीले सोमबार विहान उसको अन्त्येष्टी गर्यौं, समाधिस्थलमा अरु मानिसहरु पनि आआफ्ना छोराछोरीहरुको अन्त्येष्टि गर्दै थिए, बोको हराम विरुद्धको लडाईंमा सरकार अझै गम्भीर हुन जरुरी छ, किनकी अब स्थिति काबुबाट बाहिर जांदैछ।“

बम विस्फोटका कारण नराम्ररी घाइते हुन पुगेका धेरै जसो विद्यार्थीहरुलाई अस्पताल पुर्याइए पनि जोगाउन सकिएको थिएन।

विगतमा उग्रवादी समूह बोको हरामले विद्यालहरुलाई निशाना बनाउने गरेको थियो।

उक्त समूहले गत एप्रीलमा चीबोक नगरबाट अपहरण गरेका २०० जना भन्दा बढी स्कुले छात्राहरु अझै पनि कब्जामा छन्।

निशाना

हालै मात्र नाइजेरियाली सरकारले बोको हरामसंग एउटा युद्ध विराम सहमति भएकोले ती छात्राहरु मुक्त हुने बताएको थियो।

तर उक्त समूहका नेताले सरकारसंग कुनै वार्ता नभएको बताएका थिए।

त्यसपछि हिंसामा पनि बृद्धि हुन पुगको छ।

बोको हरामका उग्रवादीहरुले केहि नगर तथा गाउंहरुलाई आफ्नो कब्जामा लिइरहेका छन् र त्यहाँ तिनीहरुले कडा प्रकृतिको इस्लामीक कानून लागु गरेका छन्‌।

विश्लेषकहरुले सरकारको तर्फबाट त्यस्ता क्षेत्रहरु पुन: आफ्नो नियन्त्रणमा लिने कुनै प्रयास भएको जस्तो नदेखिएको भनि आश्चर्य व्यक्त गर्ने गरेका छन्।