प्रचण्डलाई काठमाण्डू फर्काउ: सभामुख

  • 11 नोभेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption संवाद समितिमा देखिएको गतिरोध प्रति संविधानसभाका अध्यक्ष‍ले चिन्ता व्यक्त गरेका छन्

माघ ८ गते संविधान जारी गर्न मंसिरको पहिलो हप्ता भित्र सहमति भइसक्नुपर्ने बताउँदै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तत्कालै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई काठमाण्डू फर्काउन आग्रह गरेका छन्।

संविधानका विवादित विषयमा सहमति जुटाउने, वा असहमतिका विषयमा प्रश्नावली सहितको प्रतिवेदन बुझाउने भन्ने म्याद सकिएको करिव डेढ हप्ता वितिसक्दा पनि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति निस्कर्षविहीन भइरहदा नेम्वाङको पछिल्लो टिप्पणी आएको हो।

उनले मंगलबार प्रधानमन्त्री सुशील कोइराला र संवाद समितिका सभापति बाबुराम भट्टराईसँग छलफल गरेका थिए।

भट्टराईको अस्वस्थताका कारण एक हप्तापछि मंगलबार बसेको संवाद समितिको बैठक बिना निस्कर्ष स्थगित भएको छ।

चिन्ता

मंगलबारको बैठकमा आफ्नो साझा प्रस्तावलाई संविधानसभामा तत्कालै प्रस्तुत गरिनुपर्ने अडान सत्तापक्षिय सभासदहरुले दोर्हाएका थिए भने प्रतिपक्षी सभासदहरुले त्यसको विरोध गरेका थिए।

पछिल्लो गतिरोध अन्त्य गर्न शीर्ष नेता सम्मिलित संयन्त्र बनाउन सभापति भट्टराईले राखेको प्रस्ताव सत्तापक्षीय दलहरुले अस्वीकार गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

विवादित विषयमा सहमति वा विमति सहितको प्रतिवेदन प्रस्तुत गर्न समितिलाई दिइएको समयसीमा सकिएको नौ दिनपछि पनि दलहरु कुनै टुंगोमा पुग्न नसकेको भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चिन्ता व्यक्त गरेका छन्।

उनले माघ ८ गते भित्र संविधान जारी गर्न मंसिरको पहिलो हप्ता भित्र संविधानका विवादित विषयहरुमा सहमति गरिसक्नुपर्नेमा शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको बताए।

उनले भने, “अहिले पनि माघ ८ गते भित्रै संविधान जारी गर्न सकिन्छ तर त्यसको लागि कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता भित्र अनिवार्य रुपमा सहमति कायम भइसक्नुपर्छ र हामीले मस्यौदा समितिलाई त्यो जिम्मा लगाउनुपर्छ।”

म्याद गुज्रिसकेकाले संवाद समितिको बैठक यसरी नै चलिरहन नसक्ने भन्दै उनले तत्कालै निस्कर्ष निकाल्न आफूले नेताहरुलाई अनुरोध गरेको बताए।

आग्रह

उनले मंगलबार प्रधानमन्त्री सुशील कोईराला र संवाद समितिका सभापति भट्टराईसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

त्यसक्रममा आफूले दुबै नेतालाई रोल्पा पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई तत्काल काठमाण्डू बोलाउन आग्रह गरेको बताए।

उनले भने, “प्रचण्डजीलाई काठमाण्डू फर्कन आग्रह गरौँ, जसले गर्दा उहाँ भोलि आउनुहुन्छ र अहिलेका जति पनि विषय छन् त्यसलाई टुंगोमा पुर्याउन सजिलो हुन्छ भनेर मैलै प्रधानमन्त्री र संवाद समितिका सभापतिलाई आग्रह गरेको छु।”

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको अनुपस्थितिमा मंगलबारको संवाद समितिको बैठक अनौपचारिकतामा सिमित भएको थियो।

सो बैठकमा केही बेर मात्रै बसेर प्रधानमन्त्री सुशील कोईराला र नेकपा एमालेका अध्यक्ष केपी ओली बाहिरिएका थिए।