लापरवाही गर्ने जहाजका कप्तानलाई ३६ वर्ष जेल

  • 11 नोभेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption दुर्घटनामा मारिएका झण्डै तीन सय जनामा धेरै स्कुले विद्यार्थीहरु थिए

दक्षिण कोरियामा गत एप्र‌िल महिनामा डुबेको एउटा पानीजहाजका कप्तानलाई काममा हेलचेक्र्याईं गरेको अभियोगमा दोषी ठहर गरिएको छ र ३६ बर्षको जेल सजाँय सुनाइएको छ।

दक्षिण कोरियाली विद्यार्थीहरु सवार उक्त जहाज दुर्घटना हुंदा झण्डै तीनसय जनाको ज्यान गएको उक्त घटनामा ज‌िम्मेवार ठानिएकाहरुलाई सुनाईएको सजाँय प्रति ज्यान गुमाउनेहरुका आफन्तजनहरुले आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।

अदालतमा उपस्थित ति मध्ये केहिले दोषीलाई ज्यान सजाँय दिनु पर्ने माग गरेका थिए।  

दुर्घटनाग्रस्त भएको उक्त जहाजमा ४७६ जना यात्रुहरु सवार थिए।

स्वीकार

उक्त जहाजका कप्तान ली जून सिओक सहित १५ जना अन्य जहाज कर्मचारीहरु विरुद्ध मुद्दा चलाइएको थियो।

जहाजका कप्तानलाई अभियोजन पक्षका वकिलहरुले ज्यान मारेको अभियोग लगाउंदै मृत्युदण्डको माग गरेका थिए तर त्यो विशेष अभियोग भने न्यायाधिशहरुले स्वीकार गरेनन्।

न्यायाधिशहरुले उक्त घटनामा जहाजका कप्तान एकजना मात्र स्पष्ट रुपमा ज‌िम्मेवार रहेको नदेखिएको र उनको हेलचेक्र्याईंपूर्ण व्यवहार, ज्यान लिने उद्देश्य सहित नरहेको बताएका छन्।

उक्त जहाज दुर्घटनाका विभिन्न कारणहरु रहेको बताइएको छ।

जस्मा जहाजको डिजाइनमा गरिएको गैरकानूनी परिवर्तन, क्षमताभन्दा बढी कार्गो बोकिएको र जहाज चलाउने कर्मचारीहरुमा अनुभवको कमी जस्ता कुरा पर्दछन्।

क्षमा याचना

जहाजले कार्गोको रुपमा बोकेका सामग्रीहरुलाई राम्ररी बांधेर नराखेको हुंदा, पानीमा जहाजले कडा घुम्ती लिंदा ति गह्रौं सामानहरु यता उता सर्न पुगी जहाजको सन्तुलन विग्रेको र त्यसका कारण पल्टन पुगेको ठानिएको छ।

त्यसपछि डुब्दै गरेको जहाजमा थुपै यात्रुहरु फसीरहेका समयमा कप्तान ली भने सकूशल बाहिर निस्केको दृश्य क्यामरामा कैद गरिएको थियो।

उक्त मुद्दाका क्रममा ति कप्तान ली ले त्यसरी आफ्नो जहाज र यात्रुलाई छाडेकोमा क्षमा याचना गरेका थिए।

उक्त जहाजका मुख्य इन्जीनियरलाई ३० वर्षको, अन्य १३ जना जहाजकर्मीलाई २० बर्षसम्मको जेल सजाँय सुनाइएको छ।