नेकपा माओवादीमा विवाद चुलिँदो

  • 12 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption एमाओवादी पार्टीबाट फुटेर बनेको नेकपा माओवादीमा आन्तरिक मतभेद चर्किँदो छ

नेकपा माओवादीको पोलिटब्युरो बैठकले पार्टी पद्धति विपरीत काम नगर्न निर्देशन दिए पनि पार्टी सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा हुन लागेको असन्तुष्ट पक्षको भेला नरोकिने बताइएको छ।

मंगलबार सकिएको पोलिटब्युरो बैठक बहिस्कार गरेको असन्तुष्ट समूहले बुधबार र बिहीबार राजधानी बाहिर आफ्नो पक्षको छलफल गर्न लागेको बताएको छ।

पार्टीले शनिबारका लागि बोलाएको केन्द्रिय समितिको बैठकमा आफूहरु सहभागी हुने असन्तुष्ट पक्षका एक नेता बताउँछन्।

उक्त भेलामा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी जिल्ला नेतृत्वलाई बोलाइएको चन्द पक्षका केन्द्रिय सदस्य सन्तोष बुढा बताउँछन्।

अन्तरक्रिया

उनी भन्छन्, "हामीले अन्तरक्रियाको लागि हरेक जिल्लाबाट दुई-दुई जना साथीहरु र मोर्चाका प्रमुखहरुलाई बोलाएका छौं।"

आफ्नो कार्यक्रम पार्टीकै सल्लाहमा गरिएको र त्यसले पार्टीलाई मजबुत ढंगले अगाडि बढाउने उद्देश्य लिएको असन्तुष्ट पक्षले बताएको छ।

तर संस्थापन पक्षका नेता हरिभक्त कँडेल सो कार्यक्रम पार्टी नीति विपरीत भएको बताउँछन्।

कँडेल भन्छन्, "त्यसरी व्यक्तिहरुले आ-आफ्नो ढंगले बोलाउँदै जाने हो भने त पार्टीहरु भन्ने के रहन्छ र? पार्टीको त विधि, पद्धति, मूल्य-मान्यता हुन्छ।"

विवाद सशस्त्र संघर्ष वा शहरी विद्रोहको कार्यदिशाबारे विवाद बढेपछि त्यसलाई निर्क्यौल गर्न केन्द्रिय समितिको बैठक बोलाइनुपर्ने माग चन्द पक्षधरहरुले गर्दै आएका थिए।

आफूहरुले बहिष्कार गरेको पोलिटब्युरोले शनिबारका लागि बोलाएको केन्द्रीय समितिको बैठकमा आफूहरु जाने चन्द निकट केन्द्रिय सदस्य बुढा बताउँछन्।

उनी भन्छन्, "पार्टीले बोलाएको बैठकमा त हामी जान्छौं किन नजानु, हामीले यता कार्यक्रम आयोजना गरेपछि उता केन्द्रिय समितिको बैठक पनि बोलाउनुभएको छ।"

काठमाण्डूस्थित एकजना बीबीसी संवाददाता भन्छन्, पछिल्लो ध्रुवीकरणले पहिलो संविधानसभाको विघटनपछि एकीकृत माओवादीबाट अलग्गिएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी फेरी फुटको संघारमा पुगेको शंका गर्न थालिएको छ।