इबोला: तीन थरी उपचारको परिक्षण गरिने

  • 13 नोभेम्बर 2014
Image caption इबोलाका कारण हालसम्म पश्चीम अफ्रिकामा ५००० जना भन्दा बढीको ज्यान गैसकेको छ

एउटा अन्तर्राष्ट्रिय स्वास्थ्य परोपकारी संस्था, मेद्सां सं फ्रोंतिएले- इबोलाबाट प्रभावित पश्चिम अफ्रीकी क्षेत्रमा आफूले संचालन गरेका स्वास्थ्य केन्द्रहरुमा इबोला विरुद्धको सम्भावित तीन थरी प्रयोगात्मक उपचारको परिक्षण गर्ने जनाएको छ।

इबोलाग्रस्त विरामीहरुको उपचारमा अरु कुनै निकायभन्दा बढी अनुभवप्राप्त उक्त परोपकारी संस्थाले भनेको छ-यि नयां परिक्षणहरुले इबोला लागेका विरामीहरुलाई अन्तत: उपचार पाउन सक्ने वास्तविक आशा जगाउने छन्।

एमएसएफले परिक्षण गर्न लागेको ति तीन थरी उपचारविधि मध्ये दुई वटा विश्व स्वास्थ्य संगठनले यस अघि नै उपयोगी हुन सक्ने भनी पहिचान गरेका एन्टी-भाइरल औषधीहरु हुन्।

तेस्रो चाहिं इबोला लागेर बांचेकाहरुको रगतबाट लिइएको प्लाज्माको प्रयोग हो जसलाई विश्व स्वास्थ्य संगठनले अनुमोदन गरेको छ।

उपचार

यि सबै परिक्षणहरुको मूल उद्देश्य सरल छ- जसरी भएपनि विरामीलाई पहिलो १४ दिनसम्म जीवित राख्‍ने।

जस्ले गर्दा त्यो भन्दा लामो समयसम्म विरामीलाई जीवीत राख्‍ने सम्भावना बढोस्।

एमएसएफका बर्टान्ड ड्रागेजले पहिले परिक्षण नगरिएका औषधी वा उपचार विधिको प्रयोगलाई एउटा असाधारण कदम भनेका छन्।

उनले भने, “यो एउटा महत्वपूर्ण समय हो र यो यसअघि कहिल्यै नभएको अन्तर्राष्ट्रिय साझेदारी हो। तर हामी हाम्रा सामु रहेका विरामीहरुलाई आशावादी बनाउन चाहन्छौं। २१ औं शताब्दीमा पनि इबोला जस्तो रोगबाट विरामीहरुको मृत्यु भैरहनु कदापी स्वीकार्य अवस्था होइन।“

हालको इबोला महामारीमा, विरामीहरुको ज्यान जाने दर ५० देखि ८० प्रतिशतको विचमा छ।

यो हतार हतारमा गर्न लागिएको औषधी र उपचार विधिको परिक्षण सकेसम्म बढीभन्दा बढी विरामीहरुको जीवन जोगाउन सकयोस् भन्नका लागि हो।

ब्रिटेन, फ्रान्स र बेल्जीयमका चिकित्सा अनुसन्धानकर्ताहरुले एमएसएफसंग मिलेर पश्चिम अफ्रीकामा रहेका इबोला उपचार केन्द्रहरुमा काम गर्ने छन्।

इबोलाका कारण पश्चिम अफ्रीकामा हालसम्म पांचहजार जना भन्दा बढीको ज्यान गैसकेको छ।