रुसी सवारी साधन युक्रेन पसे: नेटो

  • 13 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption कुनै संकेत चिन्ह नलगाइएका सवारी साधनहरु रुसबाट पूर्वी युक्रेन प्रवेश गरेको नेटोले जनाएको छ

नेटोका प्रमुख कमाण्डर जनरल फीलीप ब्रीडलभले यो साता युक्रेनमा रुसी सैन्य उपकरण र रुसी लडाकुहरु प्रवेश गरेको नेटोले देखेको बताएका छन्।

नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले सेना फिर्ता गर्न आह्वान गरेका छन्।

रुसको रक्षा मन्त्रालयले त्यहाँका रुस समर्थक पृथकतावादीलाई सहयोग पुर्याउन पूर्वी युक्रेनमा सैनिक समूह पठाएको अस्वीकार गरेको छ।

युरोपेली निकाय ओएससीइले चार हजारको ज्यान लिइसकेको युक्रेनको द्वन्द्व बढ्न सक्ने वास्तविक खतरा रहेको चेतावनी दिएको छ।

संघर्ष

बुधबार रुस समर्थक पृथकतावादी लडाकुहरुको नियन्त्रणमा रहको डोनेट्स्कमा ठूल्ठूला हतियारधारी साधनहरु देखिएका छन्।

विद्रोही नियन्त्रणको अर्को शहर लुहान्स्क नजिकै भएको संघर्षमा एकजना युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी सुरक्षा फौजले जनाएको छ।

बीबीसी संवाददाता जोनाथन मार्कसको विश्लेषण छ, युक्रेनका घटनाक्रम पुरानै स्थितिमा फर्केको छ।

गत अगस्ट पनि नेटोले विद्रोहीकहाँ रुसी सैन्य उपकरण पुगेको चेतावनी दिएको थियो।

त्यसपछि त्यस्ता कयौं ईकाइहरु फिर्ता गरिएका थिए।

तनाव

तर अहिले तनाव पुनः पैदा भएको छ।

नेटोका युरोपस्थित सर्वोच्च कमाण्डर जेनरल फिलिफ ब्रीडलभले गत दुई दिनमा नेटोले थुप्रै रुसी हतियारधारी गाडीहरु अन्य उपकरण लडाकु समूह पनि युक्रेन प्रवेश गरेको देखेको पुष्टि गरेका छन्।

युरोपका सुरक्षा र सहयोगसम्बन्धी संस्था ओएससीइले पनि पछिल्लो समयमा कुनै संकेत नलगाइएका सवारी साधनको लस्कर उक्त क्षेत्रमा देखिएको बताएको छ।

छुट्टै विज्ञप्तिमा नेटोका महसचिव जेन्स स्टोलटेनबर्गले कुनै पनि सैन्य उपस्थिति गत सेप्टेम्बर ५ मा मिन्स्कमा गरिएको संघर्षविरामका लागि गम्भीर खतरा हुने बताएका छन्।

तर रुसी रक्षा अधिकारी मेजर जनरल इगोर कोनाशेन्कोभले भने जेनेरल ब्रीडलभको दावीलाई समर्थन गर्ने उनकै शब्दमा कुनै प्रमाण छैन्।

रुसले निरन्तर रुपमा सेना र उपकरण पूर्वी युक्रेनको संघर्षमा पठाएको अस्वीकार गर्छ।

तर विद्रोहीहरुले रुसबाट आएका स्वयंसेवीहरुको सहयोग पाएको स्वीकार गर्छन्।