संवाद समितिका सभापति फेर्न प्रचण्डको चुनौती

  • 14 नोभेम्बर 2014
ca
Image caption दलहरुबीच मतभेद गहिरिंदा माघ ८ भित्र संविधान जारी गर्न अप्ठ्यारो हुने चिन्ता व्यक्त हुन थालेका छन्

संविधानसम्बन्धी आफूहरुको साझा धारणा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत संविधानसभामा प्रवेश गराउन सत्तारुढ दलहरुले जोड गरेपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले उक्त समितिका सभापति हटाएर त्यसो गर्न चुनौती दिएका छन्।

उक्त समितिको नेतृत्व गरिरहेका उनकै दलका नेता बाबुराम भट्टराईले विवादित विषयसम्बन्धी दलगत धारणाहरु संविधानसभामा प्रवेश गराउन अवरोध गरेको भन्दै कांग्रेस र एमालेले तीव्र आलोचना गर्दै आएका छन्।

प्रमुख दलहरुबीच मतभेद थप गहिरिदैं गएपछि संविधान जारी गर्न तोकिएको माघ ८ को समयसीमा प्रभावित हुने चिन्ताहरु व्यक्त हुन थालेका छन्।

मतभेद

प्रमुख दलहरु आआफ्ना अडानमा लचिलो नभइ आरोपप्रत्यारोपमै उत्रिएपछि शुक्रबार बसेका संवाद समिति र तीन दलका बैठकहरुमा चर्काचर्कीकै अवस्था सिर्जना भएको विवरणहरु आएका छन्।

रोल्पा दौडाहाका क्रममा आयोजित कार्यक्रमहरुमा बहुमतीय प्रक्रियाबाट जान खोजेको भन्दै सत्तारुढ दलहरुमाथि खनिएका प्रचण्डले त्यस्तै आक्रोश पोखेका थिए।

कांग्रेस-एमालेले साझा धारणा संवाद समितिमार्फत संविधानसभामा प्रवेश गराउन जोड दिएकोप्रति आक्रोश पोख्दै उनले संवाद समितिकै सभापति फेरेर त्यसो गर्न चुनौती दिए।

उनले भने, “कांग्रेस एमालेले भनेको हामी मान्दैनौं। हामीले भनेको उनीहरुले नमान्ने भएपछि एउटा उपाय भनेको सभापति हटाएर अघि बढे भयो। तर त्यसो गरे त्यसले द्वन्द्व निम्तिन सक्छ”।

आशंका

पार्टी अध्यक्षकै अभिव्यक्तिको आशयमा एकीकृत माओवादीका नेता समेत रहेका संवाद समिति सभापति भट्टराईले पनि दलीय मतभेदका कारण मुलुक गम्भीर द्वन्द्वतर्फ उन्मुख भएको चेतावनी दिएका छन्।

सहमतिका लागि तीन दिन समयमाग्दा पनि सत्तारुढ दलहरु राजी नभएको भन्दै असन्तुष्टि पोखेपनि उनले संवाद समितिको शुक्रबारको बैठक त्यतिनै दिनका लागि अर्थात आगामी सोमबारसम्मका लागि स्थगित गरेका छन्।

त्यसअघि सहमतिका लागि प्रचण्डले पांच दिनको समय मागेका थिए जुन अनुरोध कांग्रेस-एमालेले अस्वीकार गरिदिएपछि उनले सञ्चारकर्मीसंग भने, “पांच वर्षसम्म केही नहुंदा पनि हुने तर अहिले पांच दिन माग्दा हुन्न भन्ने। कांग्रेस एमाले सहमतिको पक्षमा छैनन् र संविधान बनाउन चाहंदैनन् भन्ने गहिरो रुपमा हामीलाई परेको छ।"

यस्तै आशंका कांग्रेस-एमालेले पनि एकीकृत माओवादी, खासगरी प्रचण्डप्रति सोझ्याउंदै आएका छन्।

उनी नेतृत्वको २२ दलीय मोर्चाका कार्यक्रमहरुमा प्रचण्डले राखेका धारणाबाट ती दलहरु रुष्ट भइरहंदा मोर्चाकै अर्को सभामा भाग लिन उनी शुक्रबार धनगढी लागेका छन्।