राजनीतिक गतिरोधले सभासदहरु फुर्सदिला

  • 17 नोभेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सभासदहरुलाई विदेश भ्रमण र राजधानीबाहिर नजान निर्देशन दिएका छन्

संविधानका विवादित मुद्दाहरु संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा अडकिएपछि अधिकांश सभासदहरु कामविहीन बनेको देखिएको छ।

संसद र संविधानसभा दुवैको पूर्ण बैठक नबसिरहेका बेला पछिल्ला दिनमा सम्वाद समितिमा नरहेका सभासदहरुको दिनचर्या फुर्सदिलो बन्दै गएको हो।

प्रायः बिहान बस्ने विभिन्न संसदीय समितिका बैठकहरुमा भाग लिने गरेका सभासदहरुले माघ ८ गतेको संविधान जारी गर्ने अन्तिम समयसीमा नजिकिंदै गर्दा पार्टी भेटघाटमा दिन कटाउनु परेको बताएका छन्।

अप्ठ्यारो

संविधान निर्माणको गतिरोध लम्बिदै गएपछि प्रमुख दलका शीर्ष नेताहरुसहित संवाद समितिका ७० जना सभासदहरु बाहेक अन्यले आफुहरु लगभग फुर्सदिलो अवस्थामा दिन बिताउनु परेको गुनासो गर्न थालेका छन्।

संसदको अधिवेशन अघिल्लो हप्ता सकिए पनि दलहरुबीच पछिल्ला दिनमा देखिएको रस्साकस्सी चुलिँदै जाँदा त्यस्तो स्थिति आएको उनीहरुको भनाई छ।

नेकपा एमालेका सभासद रेवतिरमण भण्डारीले भने, “हामी मस्यौदा समितिका मान्छेहरु संवाद समितिको निर्णयको प्रतिक्षामा छौं। जिल्लातिर घुम्न जाउँ भने यता तुरुन्तै निर्णय होला, तर निर्णय नहुँदा हामीलाई अहिले अप्ठ्यारो परेको छ।”

संविधानसभाको कार्यतालिका अनुसार सभासदहरुले आईतबारसम्म संविधानको पहिलो मस्यौदाबारे जनताको रायसुझाव संकलन गरिसकेर सोमबारबाट त्यसको प्रतिवेदन तयार गर्न थाल्नुपर्थ्यो।

तर पछिल्ला दिनमा अधिकांश सभासदहरुको दैनिकी बिहान संसदीय समितिको बैठकमा भाग लिन सिंहदरवार जाँदा र दिउँसो नेता कार्यकर्ता भेट्दैमा बित्ने गरेको देखिन्छ।

आशंका

फुर्सदिलो हुनुपरेको गुनासोसँगै माघ ८ गते नै संविधान आउनेमा उनीहरुले खुलेरै आशंका व्यक्त गर्न सुरु गरेका छन्।

एकीकृत माओवादीकी सभासद अनिता कुमारी परियारले भनिन्, “माघ ८ मै संविधान दिने भन्नेमा अब आशंकाहरु जन्मिएका छन्।”

नेपाली कांग्रेसका सभासद हृदयराम थानीले भने, “६०१ जना सबै सभासदहरुले काम पाउनुपर्यो।”

अझ कतिपय सभासदहरुले काम पाउनु त कता हो कता संविधान निर्माणमा के हुदैछ भन्ने थाहा पाउन शिर्ष नेताहरुको मुख ताक्नु पर्ने अवस्था आएको बताए।

सद्धभावना पार्टीका सभासद नरसिंह चौधरीले भने, “समितिमा हाम्रो तर्फबाट माननीय लक्ष्मणलाल कर्ण हुनुहुन्छ। उहाँबाट हामीले जानकारी लिइरहेका छौं।”

संविधानसभाको पूर्ण बैठक नबसेको झण्डै चार हप्ता भईसकेको छ।

संविधानसभाका अध्यक्षले माघ ८ अघि राजधानीबाहिर र विदेश भ्रमणमा नजान निर्देशन दिएकाले कामविहीन भएपनि सभासदहरु प्रमुख दलको निर्णय कुरेर काठमाण्डूमै बसिरहेको बताइन्छ।