पश्चिमा नेताद्वारा पुटिनप्रति 'खरो व्यवहार'

  • 16 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption युक्रेनमा जारी संघर्षमा रुसको भूमिकाप्रति पश्चिमा देश असन्तुष्ट छन्

रुस युक्रेनमा जारी संकटमा रुसको भूमिकालाई लिएर पश्चिमा देशका नेताहरुको तीव्र आलोचनाको शिकार बन्नु परेको छ।

जी-२० शिखर सम्मेलनमा सहभागि हुन अष्ट्रेलियाको ब्रिजबन पुगेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कुटनीतिक रुपमा 'रुखो' भन्न मिल्ने व्यवहार भएको हो।

युक्रेन र उसका पश्चिमा मित्रहरुले पहिल्यैदेखि युक्रेनी सीमाभित्र सैन्य बल पठाएको आरोप रुसमाथि लगाउँदै आएका छन्।

हात मिलाउनु अघि

रुसले उक्त आरोप अस्वीकार गरिरहेका बेला जी-२० शिखर सम्मेलनमा उक्त मामिलालाई लिएर पुटिनप्रति पश्चिमा देशहरुले आक्रोश मिश्रित व्यवहार गरे।

त्यसमा पनि पुटिनप्रति क्यानाडाका प्रधानमन्त्री स्टिभन हार्परले गरेको व्यवहार निकै चिसो थियो।

उनले युक्रेनबाट रुस फिर्ता हुनु पर्ने आफ्नो धारणा पुटिन समक्ष राखे।

उनले पुटिनलाई भनेको वाक्य उद्धत गर्दै हार्परका प्रवक्ताले भने, “म तपाईंसँग हात त मिलाउँछु। तर तपाईंलाई एउटा मात्र कुरा भन्नु छ- युक्रेनबाट बाहिर जानुस।”

अमेरिकी राष्ट्रपति बराक ओबामाले युक्रेनमा मस्कोको अतिक्रमण विश्वको निम्ति खतरा भएको बताए।

सम्बन्ध पुनर्निर्माण

तस्वीर कपीराइट Reuters
Image caption थप प्रतिवन्धको चेतावनी दिएका ब्रिटिस प्रधानमन्त्री र पुटिनबीच छलफल पनि भयो

संयुक्त अधिराज्यले रुसले आफ्नो छिमेकीलाई अस्थिर बनाउने काम नरोके रुसमाथि थप प्रतिवन्धहरु लगाउने चेतावनी दियो।

सम्मेलन शुरु हुनभन्दा अघि ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले भनेका थिए, “युक्रेनभित्र रुसी सेना अझै पनि देखिए युरोप र रुसबीचको सम्बन्धमा निकै परिवर्तन आउनसक्छ।”

त्यसपछि क्यामरन र पुटिनबीच भेटवार्ता भएको थियो।

दुईजना नेताले सम्बन्ध पुनर्निर्माणबारे छलफल गरेको पुटिनका प्रवक्ताले बताए।

शिखर सम्मेलन मूल रुपमा आर्थिक बृद्धिका उपाएमा केन्द्रित भए पनि पहिलो दिन शनिवार युक्रेन मामिलाले नै प्रमुखता पायो।

युक्रेनको पूर्वी इलाकामा रुस समर्थक विद्रोही र सरकारी फौजबीच संघर्ष चलिरहेको छ।