अमेरिकी बन्धकको 'आइएसद्वारा हत्या'

  • 16 नोभेम्बर 2014
kassig तस्वीर कपीराइट AP
Image caption क्यासिग गत वर्ष सिरियामा अपहरणमा परेका थिए

इस्लामिक स्टेट विद्रोहीहरुको कब्जामा रहेका अमेरिकी सहायताकर्मी अब्दुल रहमान क्यासिगको हत्या गरिएको दाबी सहितको एउटा भिडियो इन्टेरनेट मार्फत सार्वजनिक भएको छ।

सो भिडियोमा, रेटिएको घाँटी अगाडि उभिएको एक जना नकाबधारी लडाकुले हत्या गरिएको व्यक्ति क्यासिग भएको बताएको छ।

सिरियाली सैनिक भएको बताइएका मानिसहरुलाई पनि लामवद्ध बनाएर टाउको काटेको दृश्य देखाइएको सो भिडियोको आधिकारिकता पुष्टि गर्ने कोसिस भइरहेको अमेरिकाले बताएको छ।

पिटर समेत भनिने क्यासिग अघिल्लो वर्ष सिरियाबाट बन्धक बनाइएका थिए।

आग्रह

अमेरिकाको इन्डियानामा बसिरहेको उनको परिवारले आफ्नो छोराको हत्या भएको खबरको पुष्टि कुरिरहेका र आफूहरुसँग अहिलेका लागि भन्ने थप कुरा नरहेको बताएका छन्।

क्यासिगकी एक जना साथीले भनिन्, "जतिबेला पछिल्लोपटक हाम्रा कयौँ साथीहरुले उनीहरुलाई त्यहाँ नजान आग्रह गरे, उनले कुरा सुने तर अन्तत त्यहाँ जाने नै निर्णय गरे।"

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले देशको गुप्तचर निकायले पछिल्लो भिडियोको आधिकारिकता पुष्टि गर्ने प्रयास गरिरहेको जनाएको छ।

सुरक्षा परिषदकी एक जना प्रवक्ताले भनिन्, "यदि पुष्टि भए, एक जना निर्दोष अमेरिकीको हत्याले हामी स्तब्ध हुनेछौँ र हामी उनका आफन्त र साथीभाइमा समवेदना प्रकट गर्नेछौँ।"

अमानवीयता

हत्याको पुष्टि भए, इस्लामिक स्टेट विद्रोहीहरु हत्या गरिएका रहमान पाचौँ पश्चिमा बन्धक हुनेछन्।

यसअघि विद्रोहीहरुले दुई ब्रिटीश नागरिक र दुइ अमेरिकी पत्रकारको हत्या गरिसकेका छन्।

पछिल्लो भिडियोमा पनि अघिल्ला भिडियोहरुमा जस्तै चार जना पश्चिमा बन्धकको हत्या गर्ने एकजना पश्चिमा जस्तो देखिने जिहादी नकाब लगाएर उभिएको देखाइएको छ।

उक्त व्यक्ति अमेरिकी नेतृत्वमा हालै गरिएको हवाई आक्रमणमा घाइते भएको भन्ने समाचार ब्रिटेनको डेली मेल पत्रिकाले छापेकै दिन नयाँ भिडियो सार्वजनिक गरिएको हो।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले उक्त क्रुर हत्याबाट आफू स्तब्ध भएको भन्दै इस्लामिक स्टेटका बिद्रोहीहरुले फेरी पनि अमानवीयता देखाएको बताए।