बोको हरामको आक्रमणबाट जोगिन आह्वान

  • 17 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption बोको हराम समूहले स्कुले छात्राहरुलाई अपहरण गर्दै कब्जा गरेर लामो समय राख्दै आएको छ

उत्तरी नाइजेरियाका एकजना प्रभावशाली परम्परागत नेताले बोको हराम नामको चरमपन्थी इस्लामवादी समूहको तर्फबाट हुने आक्रमणहरुबाट आफ्नो प्रतिरक्षा गर्न त्यहांका बासिन्दालाई आह्वान गरेका छन्।

कानो क्षेत्रका अमीर, तथा यो बर्ष केहि अघिसम्म देशको केन्द्रीय बैंकका गभर्नर समेत रहेका मुहम्मद सानुसी द्वीतियले सप्ताहअन्त्यमा भएको एउटा प्रार्थना भेलाका बेला त्यस्तो आह्वान गरेका बताइएको छ।

ती उग्रवादी जिहादीहरुले उत्तरपूर्वी नाइजेरियामा रहेका विभिन्न नगर र गाउंबस्तीहरुलाई आफ्नो नियन्त्रणमा लिने र आफ्नो विश्वास अनुसारको कडा प्रकृतिको इस्लामी कानून लागू गर्ने गरिरहेका छन्।

तयारी

कानोका ती अमीरले भने, "स्थानीबासीले तिनीहरुको सुरक्षा गर्नका लागि सेना आउला भनेर पर्खेर बस्नु बेकार छ।"

बरु उनकै शब्दमा आतंकवादीहरुको हमलाबाट आफ्नो गाउं बस्ती र नगरहरुको सुरक्षा गर्न स्थानीय जनता आफैले तयारी गर्नु पर्छ।

उनले जनतालाई चरमपन्थीहरुबाट नडराउन पनि आह्वान गरे।

देशको केन्द्रीय बैंकको गभर्नर छँदा सरकारको कटु आलोचकका रुपमा चिनीएका ती अमीरले जनताले आफ्नो सुरक्षाका निम्ती जे जस्ता सामग्री हात पार्न सक्छन् त्यो जुटाउनु पर्ने पनि बताएका छन्।

घटना

तिनले यस्ता टिप्पणीहरु गर्दा बोको हरामको नामै लिएर सम्बोधन त गरेनन् तर उग्रवादीहरुविरुद्ध प्रत्याक्रमणका लागि तयार हुन जनतालाई, त्यस क्षेत्रका एकजना एकदमै प्रभावशाली नेताले आह्वान गरेको कदम भने एकदमै असामान्य घटना हो किनकी उनले सामान्यतया राजनीतिक विषयमा बोल्ने गर्दैनन्।

जीहादीहरुले हाल उत्तरपूर्वका विभिन्न नगर र गाउंहरुमा कब्जा जमाउने कार्य जारी नै राख्दा, यसलाई त्यस क्षेत्रमा स्थिती कतिसम्म असह्य भएर गैसक्यो भन्ने कुराको संकेतका रुपमा पनि हेरिएको छ।

सप्ताहअन्त्यमा, एउटा स्थानिय भिजीलान्ते समूहले सेनालाई, ४८ घण्टा अघि बोको हरामले कब्जामा लिएको चिबुक नगर पुन: आफ्नो नियन्त्रणमा लिन सघाएको थियो।

जुन घटनालाई उग्रवादीहरु विरुद्ध हासिल भएको सफलताको एउटा विरलै हुने घटनाका रुपमा लिइएको छ।