अष्ट्रेलियाको संसदमा मोदीलाई ताली

  • 18 नोभेम्बर 2014
तस्वीर कपीराइट govt of india
Image caption ठूलो अर्थतन्त्र भएका मुलुकहरुको समूहको सम्मेलनमा सहभागी हुन गत साता मोदी अष्ट्रेलिया पुगेका हुन्

अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको संसदलाई मंगलबार सम्बोधन गरेका छन्।

उनले दुई मुलुकबीच गहिरो सम्बन्ध रहेको बताए।

विगत २८ वर्षमा अष्ट्रेलिया भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्।

मोदीले लोकतान्त्रिक पद्धतिका कारण दुई मुलुकबीच समानता रहेको पनि उल्लेख गरे।

भारतको प्रगतिमा सहभागी हुन अष्ट्रेलियासंग पर्याप्त अवसर रहेको उल्लेख गर्दै मोदीले आफ्नो विश्वव्यापी आर्थिक संलग्नतालाई अष्ट्रेलियाले बढाउनुपर्नेमा जोड दिए।

अवसर

यसअघि उनले सिडनीस्थित ओलम्पिक पार्कमा प्रवासी भारतीयलाई सम्बोधन गरेका थिए।

त्यहाँ झण्डै २० हजार मानिसहरुको सहभागीता थियो।

उनी मञ्चमा उक्लिने बित्तिकै मोदी-मोदी भन्ने आवाजले कार्यक्रमस्थल गुञ्जयमान भएको थियो।

आफ्नो सम्बोधनमा उनले भारत र अष्ट्रेलियाबीचको साझा मूल्य मान्यता र सुदृढ लोकतान्त्रिक परम्पराबारे चर्चा गरेका थिए।

त्यहाँ उपस्थित मानिसहरुलाई उनले प्रश्न गरे, “तपाईंहरुलाई के लाग्छ लोकतन्त्र नभएको भए म यहाँ हुने थिएँ?”

अपेक्षा

तस्वीर कपीराइट AFP
Image caption मोदीले प्रवासी भारतीयलाई स्वदेशमा लगानी गर्न र थप रोजगारी सृजना गर्न आह्वान गरे

मोदीले भारतको आर्थिक विकाससम्बन्धी सरकारको योजनाबारे पनि चर्चा गरे।

उनले अष्ट्रेलियाका मानिसहरुका लागि भीसा प्रक्रियामा सरलता ल्याउने वाचा समेत गरे।

उनले भने, “मलाई थाहा छ मायासंगै अपेक्षा पनि हुन्छ। हो, तपाईंहरुले सपना देखेझै हामी भारत बनाउन चाहन्छौं।”

भारत पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले देश बाहिर बस्दै आएका भारतीयहरुलाई स्वदेशमा लगानी गर्न र युवाहरुका लागि थप रोजगारी सृजना गर्न आह्वान गरे।

ठूलो अर्थतन्त्र भएका मुलुकहरुको समूह जी-२० को सम्मेलनमा सहभागी हुन गत साता मोदी अष्ट्रेलिया पुगेका हुन।