'आइएसको भिडियोमा फ्रान्सेली नागरिक'

  • 19 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption फ्रान्सका झन्डै हजार जिहादीहरु सिरिया र इराक गएको बताइन्छ।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले, इस्लामिक स्टेटका उग्रवादीहरुले सार्वजनिक गरेका पछिल्लो भिडियोमा देखिने उग्रवादीहरु मध्ये एकजना अर्को फ्रान्सेली नागरिक रहेको पुष्टि गरेका छन्।

ओलाण्डले इस्लामिक स्टेटका भनिएका ति व्यक्तिबारे थप जानकारीहरु जुटाउने प्रकृया जारी रहेको बताएका छन्।

विवरणहरुमा फ्रान्सेली मूलका ती व्यक्तिको उमेर बीसको हाराहारीमा रहेको र उ पेरीस नजीकैको स्थायी बासिन्दा हुन सक्ने बताइएको छ।

अष्ट्रेलियाको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति ओलाण्डले पत्रकारहरुसंग कुरा गर्दै, इस्लामिक स्टेटको पछिल्लो भिडियोमा दुईजना फ्रान्सेली नागरिकहरु रहेको बताएका थिए।

उनले एकजनाको पूर्ण पहिचान भैसकेको र अर्कोको पनि पहिचान गर्ने प्रकृया जारी रहेको बताए।

फ्रान्सेली अधिकारीहरुले यसअघि उक्त भिडियोमा देखिएका एकजना म्याक्सीम ओशार भएको पहिचान गरेका थिए।

भुमिका

पछि मुसलमान धर्म अंगालेका नर्मण्डीका ति बासिन्दा, गत अगष्ट महिनामा देश छाडेर सिरिया गएका थिए।

उक्त भिडियोमा सिरियाली बन्दीहरुलाई टाउको काटेर मारिएको दृश्य र एकजना अमेरिकी सहायता कार्यकर्ता पीटर कासीगको काटिएको टाउको देखाइएको थियो।

एउटा फ्रान्सेली संचार माध्यम 'फ्रान्स टु' ले जनाए अनुसार ती दोस्रो व्यक्तिलाई उनका एकजना साथीले पहिचान गरेका र तिनले इस्लाम धर्म अंगालेको बेला नै सबैजना आश्चर्यचकित भएका बताएका छन्।

राष्ट्रपति ओलाण्डले त्यो भिडियोमा देखिएका फ्रान्सेली नागरिकहरुको वास्तविक भूमिकाका बारे जान्न अधिकारीहरुले प्रयास गरिरहेका बताएका छन्।

उनले आफ्ना देशका नागरिकहरुलाई जीहादीहरुको वेबसाइटहरुको खतराकाबारे जानकारी गराउन आह्वान गरेका छन् भने, परिवारजनहरुलाई पनि आफ्ना युवा छोराछोरीहरुलाई चरमपन्थीहरुको भनाईमा लागेर भड्किनबाट रोक्न चनाखो रहन पनि भनेका छन्।

इस्लामिक स्टेटले सार्वजनिक गरेको पछिल्लो भिडियोमा, यस अघिका त्यस्तै भिडियोहरुमा भन्दा भिन्न, त्यसमा देखिने कतिपय उग्रवादीहरुले आफ्नो अनुहार ढाकेका छैनन्।

उक्त पछिल्लो भिडियोमा सैनिकहरु भनेर बताइएका १८ जना सिरियालीहरुलाई घांटी रेटेर मारिनु अघि उग्रवादीहरुका सामु जबर्जस्ती घुंडा टेक्न लगाइएको देखाइएको थियो।

पश्चिम युरोपमा, रुसपछि सबैभन्दा ठूलो मुसलमान समुदाय भएको देश फ्रान्स हो र सिरिया र इराकमा रहेका पश्चिमा जीहादीहरु मध्ये धेरै जसो फ्रान्सेलीहरु नै रहेका विश्वास गरिन्छ।