सार्क सम्मेलनमा ३६ हजार सुरक्षाकर्मी खटिने

  • 20 नोभेम्बर 2014
तस्वीर कपीराइट bbc
Image caption सार्क सम्मेलनको सुरक्षाका लागि नेपाली सेना सहित चारवटै सुरक्षा निकाय परिचालन गरिएको छ

आसन्न अठारौँ सार्क शिखर सम्मेलनको सुरक्षाका लागि चारवटै सुरक्षा निकायका ३६ हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

सार्क सुरक्षा कार्ययोजना अन्तर्गत नेपाली सेना पनि गृह मन्त्रालयको नेतृत्वमा परिचालन हुन लागेको अधिकारीहरुले बताएका छन्।

आठ देशका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने सम्मेलनको सुरक्षालाई थप मजबुत बनाउन मोबाइल अवरुद्ध गर्ने उपकरण र सीसीटीभी समेत प्रयोग गर्न लागिएको छ।

सुरक्षा निकायहरुले सार्क सम्मेलनमा हुने आफ्नो तैनाथीको अभ्यास मंगलबारबाटै अघि बढाएका छन्।

तयारी

सार्क सम्मेलनका लागि चारवटै सुरक्षा निकायहरुमा विशेष संयन्त्रहरु खडा गरिएको र ती संयन्त्रहरुले गृहमन्त्रालयमा बनाइएको केन्द्रिय कमाण्ड पोष्टसँग संयोजन गरी काम अघि बढाउने अधिकारीहरुको भनाई छ।

त्यो भन्दा माथि गृहसचिव, रक्षा सचिव र चारवटै सुरक्षा निकायका प्रमुख सम्मिलित केन्द्रिय निर्देशन समिति गठन गरिएको छ, जसले सुरक्षा बन्दोबस्त मिलाउन खटिएका टोलीलाई आवश्यक पर्दा प्रत्यक्ष निर्देशन दिनेछ।

सार्क सम्मेलनका लागि काठमाण्डू उपत्यका र विदेशी पाहुनाले भ्रमण गर्ने जिल्लाहरुमा गरी ३६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।

“अहिलेसम्म हाम्रो हिसाबमा लगभग ३६ हजारभन्दा केही बढी सुरक्षाकर्मी खटिनेछन्। विशिष्ट पाहुनाहरुले भ्रमण गर्ने लुम्बिनी, जनकपुर र मुक्तिनाथमा परिचालन हुने सुरक्षाकर्मीको संख्या पनि यसमा समेटिएको छ।”

८ वटा देशका सरकार प्रमुखहरुको सवारीले निम्त्याउन सक्ने चापलाई ध्यानमा राखी विद्यालय र सरकारी कार्यलयहरु बन्द गर्ने र दिन तोकेर जोर बिजोर नम्बर प्लेटका सवारी साधनलाई सडकमा गुड्न दिने निर्णय गरेको सरकारले बताइसकेको छ।

प्रविधि

नेपाल आउन लागेका अति विशिष्ट पाहुनाहरुको सुरक्षालाई लक्षित गरी यसपटक प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको अधिकारीहरुले बताएका छन्।

जसअन्तर्गत विमानस्थल देखी उनीहरु चढेको गाडी गुड्ने सडक, बस्ने होटल र सम्मेलनस्थल राष्ट्रिय सभागृहमा थप २ सयभन्दा बढी सीसीटीभी जडान गरिएका छन्।

अति विशिष्ट पहुनाहरु हिड्दा सवारी रुटमा मोबाइल सिग्नल अवरुद्ध बनाउन पहिलो पटक ४ वटा ज्यामर उपकरणहरु प्रयोग गर्न लागिएको प्रहरीले जनाएको छ।

सार्कका राष्ट्र र सरकार प्रमुखहरुको सुरक्षामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै निकाय एकीकृत रुपमा खटिने भएपनि सुरक्षा संवेदनशीलताका कारण भन्दै बाँकी विवरणहरु गोप्य राखिएको छ।

सुरक्षाको सबै बन्दोबस्त गृहमन्त्रालयकै नेतृत्वमा अघि बढाइएको गृह प्रवक्ता ढकालको भनाई छ।

सार्क सम्मेलनको सुरक्षाका लागि अहिलेसम्म अर्थमन्त्रालयले गृहमन्त्रालयलाई मात्रै झन्डै ३८ करोड रुपैयाँ निकासा गरिसकेको बताईएको छ।